विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजन अधिकारीले जिम्मेवारी सम्हालेका छन् । नेपाल सरकार गृह मन्त्रालयको मंसिर २७ गतेको निर्णयानुसार विशेष ब्यूरोबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएर हाजिर भएका प्रहरी नायव महानिरीक्षक अधिकारीले बुधबार कार्यभार सम्हालेका हुन् ।

उनलाई प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक अबिनारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी, कोश प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यलय मोरङ, सुनसरीका प्रहरी प्रमुखसहितले स्वागत गरेका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पदभार ग्रहणपश्चात् डीआईजी अधिकारीले प्रदेशको शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, अपराधको विद्यमान अवस्था र चुनौती, प्रदेश प्रहरी कार्यालयद्वारा गरिएका नवीनतम् तथा रचनात्मक कार्यबारे जानकारी लिएका थिए ।










