“धोति हाम्रो विशिष्ट पहिरन हो, आभुषण हो । हामीलाई गर्व छ , हाम्रो धोती मा । धोति हाम्रो आन, वान, शान र स्वभिमान हो । तर कसैले त्यहीँ धोति शब्दको प्रयोगबाट हाम्रो शानमा गुस्ताखी गर्छ भने त्यो स्विकार्य छैन् । ”
विभिन्न अवसर, आयोजनाहरुमा हाम्रो पहिरन, खानपान, भाषा , भुगोल आदिको आधारमा गिज्याउने काम राज्य स्तरबाटै हुने गर्छ। निश्चित वर्ग र समुदायको बाट पनि बारम्बार हुने गर्छ। कहिले हामीलाई सडेको आँप भनिन्छ । कहिले धोती बिहारी, भैया । गालीगलौज कति कति , देखि साध्य छैन् । पेशा व्यवसायको आधारमा हाम्रो पहिचान गरिन्छ । पुराना पुस्ताले गरे ठिकै थियो तर नयाँ भर्खरैका कलिला केटाकेटीहरू पनि त्यहीँ घटिया बाटो र मानसिकता लिएर हिडेको देख्दा, यो समाज कहिले नसुध्रिने हो कि जस्तो पनि लाग्छ । क्रिकेट मैदानमा देखिएक रंगभेद, नश्लभेद, क्षेत्रीय विभेद जस्ता कुराहरूले सेलाई सकेको पहिचानको मुद्धालाई फेरी युवाहरु माझ ब्युँताउने काम गरेकाे छ । लाग्दैछ राज्यले हामीबाट उठाएको कारबाट , यिनीहरूल कस्तो शिक्षा दिनु खर्च गरिदैंछ ? राम्रो शिक्षा र संस्कार पाएको भए यो लेखिरहनु पर्दैनन् थियो होला ।
नेपाली क्रिकेट जगत नै यस्तो क्षेत्र हो जसले अधिकतमरूपमा संग्लो नेपाल समेट्न खोजेको प्रतित हुन्छ । तर रंग, जाति, समुदाय र क्षेत्रीय विभेदलाई बढावा दिने सङ्किर्ण सोच पालेकाहरूले क्रिकेट जगतमा पनि विभेदको रंग घोल्न खोजे। र केही हदसम्म सफल पनि भए । एनपीएल क्रिकेटमा आफ्नो टिमलाई समर्थन गर्ने नाउँमा खासगरी एउटा समुदाय र क्षेत्रलाई होच्च्याउने हर्कतहरू हाबी भएको पाइयो । नेपाली क्रिकेट यहाँसम्म आइपुग्नुमा तीनै होच्याइएको समुदाय र क्षेत्रको महत्वपूर्ण योगदान छ भन्ने जगजाहेर नै छ । बिडम्बना, यो कुरा ती होच्च्याउनेहरूले राम्ररी बुझेनन् वा बुझ्न चाहेनन्! खेल अमुक क्षेत्र वा समुदायको भएकै भरमा नभई खेल कौशलले जितिन्छ भन्ने कुरा होच्च्याउनेहरूले अन्तिम नतिजापछि पनि बुझ्न सकेनन्। एउटा नेपाली नागरिक भएर हेर्दा एनपीएलमा कसैले हारेको वा जितेका छैन । समर्थकहरू कोही तल वा कोही माथि परेका छैन । देशले जितेको छ, देश माथि परेको छ । हार र जितलाई सहजै पचाउन नसक्ने, अराजक, हिंस्रक दर्शकबाट न खेलको भलो हुन्छ। न त देश कै ।
क्यानले आयोजना गरेको नेपाल प्रिमियर लिग(एनपिएल) मा ८ टिम मध्ये एउटा टिम हो जनकपुर बोल्टस् । क्रिकेटको क्रेज नेपाली खेल प्रेमीहरूमा पनि धेरै नै आकाशिएको छ, जुन क्रिकेट र समग्र खेल जगतको लागि खुशीको खबर हो । खेलका माध्यमबाट चुडिएका सम्बन्धहरू जोड्ने गरिन्छ । तर विडम्बना एनपिएलको सुरूवात सँगै २०५७ साल पुस ११ गते (दिसम्बर २६, २०००) को ऋतिक रोशन काण्डको झझल्को दियो। जुन प्रकारले जनकपुर बोल्टस्लाई भन्दा पनि समग्र मधेशलाई संगठित रुपमा मैदान भित्र, बाहिर र समाजिक सञ्जाल जसरि र जुन तवरले बुलिङ्ग गरियो , बाँकी टिमका समर्थकहरू द्वार यदि जनकपुर बोल्टस् का समर्थकले संयमता नअपनाएको भएको आज द्रोसो सम्प्रदायिक काण्ड हुन्थ्यो राजधानीमा, जसको तापमा पुरा देश जलिरहेको हुन्थ्यो ।
जसरी भारतीय अभिनेता ऋतिक रोशनले नेपाल र नेपालीहरूलाई मन नपराउने अभिव्यक्ति दिएको भन्ने हल्ला फैलियो। यद्यपि, यस्तो अभिव्यक्ति दिएको कुनै प्रमाण थिएन, र ऋतिक रोशनले पनि यस्तो भनाइ अस्वीकार गरेका थिए। तर, यो अफवाहले नेपालमा ठूलो विरोध र हिंसात्मक घटनाहरू निम्त्यायो। काठमाडौं लगायतका सहरहरूमा प्रदर्शनकारीहरूले ऋतिक रोशनको पुत्ला जलाउने, भारतीय फिल्महरूको बहिष्कार गर्ने, र विशेषगरी, मधेसी समुदायका व्यक्तिहरूलाई भारतीय नागरिक ठानी कुटपिट र दुर्व्यवहार गरियो। यस घटनाले मधेसी समुदायमा ठूलो त्रास र असुरक्षा महसुस गरायो। धेरै मधेसी अनुहार भएका नेपालीहरूलाई काठमाडौं छोड्न बाध्य बनायो। , ‘ऋतिक रोशन काण्ड’ ले नेपालमा जातीय र क्षेत्रीय विभाजनलाई उजागर गर्यो । ‘
एनपिएलको फाइनल खेलपछि मैदान बाहिर मधेशी अनुहारहरूलाई लक्षित गरि आक्रमण गरियो, ज्यानै मार्ने कोसिस भए । यस्तै भएको थियो २०५७ साल पुष ११ गते काठमाडौंका सडकहरूमा । जहाँ मधेशी अनुहार भएका नेपालीहरूमाथि आक्रमणको डरले धेरैजसो मधेशीहरू काठमाडौं लगायत पहाडी क्षेत्रबाट आफ्नो गाउँतर्फ फर्कन बाध्य भए। उनीहरूले आफ्नो रोजगारी र व्यापार व्यवसाय गुमाउनु पर्यो ।
यति सम्म गलत मानसिकता भएको मानिस समाजमा बसेपछि त्यो समाजको उत्थानको सपना देख्नु नै बेकार हो जस्तो लाग्छ । जनकपुर बोल्टस् को ड्रेस लगाएकै भरमा उपत्यकाको सडकहरुमा, मैदान भित्र र बाहिर र समाजिक सञ्जालमा जुन ब्यबहार गरियो त्यो अशोभनीय , निन्दनिय अब्यबाहरिक , कुकृत्य हो । क्रिकेट जगतकै सबैभन्दा रोचक, आवेशपूर्ण खेल भारत र पाकिस्तान बिच हुने गर्छ तर पनि उनिहरुका फ्यान यति तलसम्म झर्दैन। जति तल यो संस्करणमा बाँकी टिमका अराजक हिंस्रक फ्यानहरु जनकपुर बोल्टस् र मधेश प्रति झरे ।
समय फेरियो, पुस्ता फेरियो तर मधेश र मधेशीलाई हेर्ने नश्लभेदी आँखा अझै फेरिएका छैन । अलगावादको कुरा गर्दा देशद्रोही, पहिचान र स्वायत्तताको कुर गर्दा अराष्ट्रिय, मौन बस्दा चरम विभेद र विनिपात । त्यसको प्रतिकार गर्दा कुटपिट र ज्यान जाने सम्मको डर । यो त्रासको गोलचक्कर बाट मधेशी कहिले र कसरी मुक्ति पाउँछ ? यो भयक्रान्तले मधेशीलाई कहिले छोड्छ ? नशलबादी शासकले सधैं मधेश लाई टुक्रा टुक्रामा पार्ने काम मात्र गर्दै आइरहेको छ । कहिले मधेशी बाट मुस्लीम छुट्टयाउने त कहीले आदीबासी ,जनजाती, दलितको नाम मा । त कहिले प्रदेशमा विभाजन गरेर । तर नेपाल प्रीमीयम लीगको दौरान जसरी मधेशको २२ वटै जिल्ला बाट जनकपुर बोल्टस् लाई आफ्नो प्रतिनिधीको रुपमा समर्थन प्राप्त थियो त्यो नशलबादी चिन्तनले ग्रसितहरूको गालामा दरिलो झापड थियो । जसको छाप यस्ता मानसिक रोगीहरुको गालामा कालान्तरसम्म रहिरहन्छ ।
स्विकार्यता पाउनको लागि ‘उसकै ‘ भाषा बोल्नु पर्ने । यो पनि सांस्कृतिक नरसंहार भित्रकै एउटा शस्त्र हो । यो परिभाषालाई एनपिएलको ताजा संस्करणले प्रमाणित गरेको छ । यो जित जनकपुर बोल्टस् को मात्र होइन् । वर्षौ देखि राज्य र विशेष समुदायको दमन, अपहेलना, गिज्याएका, पाइलैपिच्छे विभेद भोगेका, प्रताडित ६१ लाख भन्दा बढी मधेसीको जित हो । आत्मसम्मान, स्वभिमान र पहिचानको जितेको प्रतिक हो । मधेशको गौरव , मधेशको सम्भावना , मधेश र मधेशीको भविष्यको जित हो । एकैपल्ट यति जित प्राप्त गरेपछी, जसको नी आँखा लाग्छ । स्वभाविक हो । आखाँ लगाउन पाइन्छन्, तर स्वभिमानमा र पहिचानमा चोट पुर्याउन पाईदैन ।
देशकै मुटुमा यस्तो जघन्य अपराध हुदैँ गर्दा , प्रहरी प्रशासन, सुरक्षा संयन्त्र, कहाँ थियो ? जासुसी संयन्त्रमा वर्षेनी लाखौं रुपैयाँ खर्च गर्ने , सुरक्षा निकायले यस्तो हुन सक्छ भनेर पूर्व अनुमान किन गरेनन् ? वा गरेर पनि वेवास्ता गरियो। मर्ने त सडेका आँपहरू हो भनेर । यसले पनि मधेश प्रति राज्यको उदारता देखाउँछ। मधेश र मधेशीलाई हेर्ने काठमाडौंको दृष्टि अझै उहीँ २००७ जस्तै छ । दुध दिने गाई जस्तो । जब सम्म गाईले दुध दिन्छ राम्रो हेरचाह पाउछन्, जुन दिन दुध दिन बन्द गर्छ , त्यसै दिन सडकमा ल्याएर छोड दिने प्रवृत्ति छ राज्यको मधेस प्रति ।
जब सम्म देशको एउटा वर्ग , समुदायको मानसपटल नश्लवादी चिन्तनको कब्जामा हुन्छ । देश र जनताले सधै दुख पाउँछन, देशकै अर्को वर्गको जनताको बाच्ने अधिकार खोसिन्छन । आउने सन्ततिले यसको मूल्य चुकाउनु पर्छ ।देशले गति लिनुको साटो अधोगति तिर लाग्छ। अपहेलित जनतामा चरम निराशाले आफ्नो स्वाभिमान , पहिचान रक्षाको लागि क्रान्तिको बाटो रोज्छ । जसले देश र जनता बिचको खाडल झन् फराकिलो हुँदै जान्छ र अन्तिममा सिंजामा आफ्नो जातिय वैभव, श्रेष्ठता र रजगज स्थापित गरेर बसेका सामन्तहरुलाई सिंजाको सम्राट क्राचल्लदेव ले गरेको दास विमोचनको निर्णयले जसरी उनीहरूमा तरंगहरू सिर्जना गरेको थियो । राजगुरु आर्यदेवको घमण्ड, वर्ण व्यवस्था, जातिय श्रेष्ठता जस्ता कुराहरूले नै सिंजाका दासहरूको वेग्लै मोक्षभूमिको निर्माण भएको थियो । यस्तै यता पनि नहोस् भन्नको लागि , यस्ता निर्कृष्ट नश्लवादी सोचलाई समयमै तिलान्जली दिएर कर्णालीमा बगाउनु पर्छ । यदी बगाएन भने यसले ठुलो अनिष्ट जन्माउँछ, जुन कसैको हितमा हुदैँन । महात गांधीले भनेका थिए ‘अपराध गर्ने भन्दा सहने अपराधी हुन् ।’ हामीले हाम्रो भाषा, छालाको रंग, परम्परा संस्कृति, पहिरन, खानपान, कर्म , व्यवसाय र भुगोल को आधारमा कहिले सम्म अपमान, अपहेलना, दुर्व्यवहार, सहेर आफ्नै देशमा अपराध नै नगरी अपराधि जस्तो बस्नुपर्ने ? पाइलैपिच्छे राष्ट्रियता, देशप्रेमको अग्नि परिक्षा दिनुपर्ने हो ? होइन् भने जित होस् कि हार , खेल होस् कि राजनीति, वा होस् एकल जातिय राज्य सँग अधिकारको लडाईं, सबैमा हामीले हाम्रो खुन नै बगाउनु पर्ने ? के यि राज्यका, (खासगरी काठमाडौं) सडकहरू अति तिर्छखाएका छन्, जसको तिर्खा सिर्फ मधेशको खुनले मेटाउन सकिन्छ भने भन, हामी यसको उपाय दिन्छौं, तिमीहरू संग छैन् भने ।
हामी एकता, भाइचारा चाहान्छौ, हाम्रो संस्कृति र संस्कारले पनि त्यहीँ नै सिकाउँछ हामीलाई । महाभारतमा शिशुपाल चेदि राज्यको राजा थिए, जो श्रीकृष्णका सम्बन्धी थिए। तर, उनी श्रीकृष्णको कट्टर विरोधी र ईर्ष्यालु व्यक्ति थिए। शिशुपालले बाल्यकालमा श्रीकृष्णबाट १०० भन्दा बढी अपराध माफी पाउने वाचा पाएका थिए । श्रीकृष्णले उनलाई बारम्बार क्षमा गरे पनि तर सभामा जब शिशुपालले भगवान् श्रीकृष्णलाई अत्यधिक अपमान गरे, जुन शिशुपालको १०१औं गल्ती थियो ,तब श्रीकृष्णले आफ्नो सुदर्शन चक्र प्रयोग गरेर शिशुपालको वध गरे। भगवान होस् या मानव सबैको सहने एउटै निश्चित समय , सीमा र परिधि हुन्छ । हामी आफैं अग्रसर भएर हिंसाको बाटो अंगाल्दैनौ । न त हामी हिंसा, विभेद , दमन जस्तो कार्यको समर्थन गर्छौँ । यो नश्लवादी चिन्तनको कतिऔं गल्तिको हो , त्यसो हिसाब स्वयम् राज्य सञ्चालकहरूले लेखाजोखा गर्नु नै उपयुक्त हुन्छ किनभने हामी यदुवंशी श्रीकृष्णका र सूर्यवंशी श्रीरामका वंशज हौं जसको आराध्य देव स्वयम् त्रिकालदर्शी महादेव हुनुहुन्छ । जसरी महादेवले सतिको वियोगमा र अस्तित्वको रक्षाको लागि जल , थल र वायुमा तान्डव गरेर विध्वंस मचाएको थियो । हामी पनि हाम्रो पहिचान र अस्तित्व बचाउन पछि हट्दैनौं । सबै मिलि अगाडी बढौं , आपसी सद्भाव कायम राखौं । यस्ता ताई न तुइको काममा आफ्नो अमुल्य उर्जा खेर नफालौं । भएको उर्जालाई देश हित र समाजको कल्याणमा सिर्जनात्मक प्रयोग गरौं । खेललाई मनोरञ्जनको भावनाले हेरौं, बढी भावनात्मक भएर आपसी सद्भाव र समाजिक सोहार्द नबिगारौं । एक अर्काको सहअस्तिवलाई स्विकार गरौं। आखिर बस्नु यहीं छ ।










