इनरुवा । सुनसरी प्रहरीले पर्वको नाममा संस्कृति नबिगार्न तथा सम्भ माहोलमा होली मनाउन सर्वसाधारण लाई आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले होली पर्वमा अप्रिय तथा अमर्यादित गतिविधि रोक्न जिल्लाभर विशेष सुरक्षा योजना लागु गर्ने जनाएको छ । सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले शान्तिपूर्ण वातावरणमा होली मनाउन सर्वसाधारण लाई आग्रह गरेका छन् ।

सुनसरी प्रहरीले होलीमा अमर्यादित गतिविधि गर्ने, जबरजस्ती रङ दल्ने, मापसे गरेर मोटरसाइकल कुदाउने, तथा होहल्ला गरी शान्ति सुरक्षामा खलल पुर्याउने जो कोहि लाई समेत कार्वाही गरिने जनाएको छ ।
होलीमा विकृति रोक्न सुनसरी प्रहरीले विशेष अप्रेसन चलाइने जनाएको छ । गाँजा, भाङ तथा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, मापसे गरी सवारी चलाउने, हेलमेट लगायत आवश्यक कागजात नबोक्ने सवारी चालकदेखि शंकास्पद गतिविधी गर्ने र जबरजस्ती अबिर तथा रङ दल्ने उपर नियन्त्रणमा लिई नियम बमोजिम कार्वाही चलाउने प्रहरी प्रमुख तिम्सिनाको भनाइ छ ।
ट्राफिक सहित जनपथ प्रहरीको चेकपोइन्टका अलावा बजार तथा चोकहरुमा प्रहरीको उपस्थिती बढाइने सुनसरी प्रहरीले जनाएको छ । सम्भावित भीडभाड र झैझगडा हुने स्थानहरुलाई निगरानीमा राखिने प्रहरीले जनाएको छ । साथै सुनसरी प्रशासनले संस्कृति लाई विकृतिको रूपमा नभई शान्त माहोलमा पर्व मनाउन सबैमा आग्रह गरेको छ ।









