नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरी जिल्ला कमिटिले इटहरीमा बृहत जनजागरण सभा गर्ने भएको छ । पार्टी कार्यालय मंगलबार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार पार्टीको केन्द्रिय सर्कुलरले चैत २० गते बुधबार सुनसरीको इटहरीमा एमालेले बृहत जनजागरण सभा गर्ने तयारी गरेको हो । अस्ति चैत्र १५ गते पूर्व राजा ज्ञानेन्द्र साहको उक्साहटमा पूर्व राजावादीहरुको अराजक समुहले काठमाडौ तीनकुने, कोटेश्वर र जडिवुटी लगायतका क्षेत्रमा देखाएको उदण्डता, अराजकता र हिंसाको नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी घोर भत्र्सना एवंम् विरोध गर्दै जनतालाई सचेतना र जागरणका लागि इटहरीमा बृहत जनजागरण सभा गर्ने जनाएको छ ।
पार्टीका सुनसरी सचिव राम कोईरालाले पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार काठमाण्डौंमा शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, व्यबसायिक भवन, सञ्चारगृह, व्यक्तिको नीजि सम्पत्ती तथा सराकारी सम्पती तोडफोड तथा आगजनी एवंम् लुटपाट गर्ने, नियोजित रुपमा हिंसागर्ने र हिंसा गर्न प्रोत्साहित गर्ने, शान्ति सुरक्षाको जिम्मेवारी बहन गरीरहेका सुरक्षाकर्मीहरु माथि आक्रमण गर्ने, हतियार खोस्ने, जिम्मेवारी वहन गरीरहेका सञ्चारकर्मीहरुलाई आगो लगाई हत्या गर्ने, राजनीतिक दलका कार्यालय तोडफोड तथा आगजनी गर्ने, लगायतका आतंकवादी क्रियाकलाप गर्ने एवंम मुलुकको लोकतान्त्रीक प्रणालीलाई बिथोलेर देशलाई अराजकतातिर धकेल्ने दुस्प्रयास निन्दनिय एवम भत्र्सना योग्य रहेको छ ।
जानीजानी हिंसा र आतङ्कलाई प्रोत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने र देश विकासको अभियानलाई प्रभावित पार्न खोज्ने घृणित कार्य कुनै हालतमा सफल हुने नदिने समेत कोईरालाले बताउनुभयो । पत्रकार सम्मेलनमा पार्टीका कार्यवाहक अध्यक्ष पर्शुराम यादवले नेकपा (एमाले) सुनसरी लोकतान्त्रीक गणतन्त्र र नेपालको संबिधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दै इटहरीमा बृहत जनजागरण सभा गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
यादवले सबै राजनीतिक दल, नागरीक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन हार्दिक आह्वान गर्दै इटहरीमा हुने बृहत जनजागरण सभालाई सफल पार्न अपिल गर्नुभयो ।उहाँले काठमाण्डौमा भएको अपराधिक क्रियाकलापमा संलग्न तथा त्यसका मतियारहरुलाई तत्काल कानूनी दायरामा ल्याउन, घाइतेहरुको नि शुल्क उपचार एवंम् पीडितलाई क्षतिपूर्तिको व्यबस्थागर्न र शान्तिसुरक्षाको प्रभावकारी प्रवन्ध गर्न सरकारसंग जोडदार आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा बाडिएको प्रेस विज्ञप्तीमा भनिएको छ, “सामन्तवादका पृष्टपोषक मण्डलेहरुको जनतालाई भ्रममा पार्न सडक आन्दोलनका नाममा उच्छृङ्खलता गर्ने कार्यका विरुद्ध सच्चा देशभक्त लोकतन्त्र र गणतन्त्रका हिमायतीहरुले पनि सरकार सदन र सडकका तिनै मोर्चामा गोलबन्द भएर कथित राजावादीहरुको षडयन्त्रलाई विफल पार्न २०८१ चैत्र २० गते सुनसरीको ईटहरीमा पाटीका महासचिव शंकर पोखरेल मूख्यवक्ता तथा प्रदेश ईन्चार्ज शेरधन राई र जिल्ला ईन्चार्ज जगदिश कुशियैत लगायतका वक्ता रहने गरि जनजागरण सभाको आयोजना गरिएकोले उक्त कार्यक्रमलाई हजारौको संख्यामा सहभागिता जनाउनका लागि संचार क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहेको हुनाले राष्ट्रको चौथो अंग मानिने संचार माध्यम मार्फत सबै आदरणिय जनसमुदायमा हार्दिक अनुरोध गर्दछौं ।” पत्रकार सम्मेलनमा पार्टीका जिल्ला कार्यवाहक अध्यक्ष पर्शराम यादव, सचिव राम कोईराला, जिल्ला ईन्चार्ज जगदिश कुशियैत, नेता रामप्रसाद मेहता, लोकेश निरौला लगायतको उपस्थिती रहेको थियो ।








