सुनसरी जिल्लाको कोशी गाउँपालीकामा समेत जेनजी आन्दोलनको क्रममा ठुलो क्षति भएको पाइएको छ । जेनजी आन्दोलन पछिको अवस्था बारे कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको नेतृत्वमा मंगलवार गरिएको स्थलगत अनुगमनको क्रममा त्यस्तो पाइएको हो ।

गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी, हरिनगर अध्यक्ष गफार अन्सारी समेतको उपस्थितिमा स्थलगत अनुगमन गर्दा कोशी गाउँपालीका १ न: वडामा अवस्थित रहेको पालिकाको प्रशासनिक भवन, १, २ र ३ न: वडा कार्यालय तथा कार्यालय भित्र रहेका कुनै पनि सामग्री कामै नलाग्ने गरी क्षति पुर्याइएको अवस्थामा छ ।

यसैबीच मंगलवार नै बसेको कोशी गाउँपालीका गाउँ कार्य पालीकाको बैठकले तत्कालको लागि कोशी गाउँपालीका ३ न: वडामा अवस्थित रहेको बद्री पुलमा गाउँपालीकाको प्रशासनिक कार्य बिहिवारबाट थाल्ने निर्णय गरेको छ । जसको लागि गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले आफ्नो बन्दै गरेको निजी घर निशुल्क रुपमा उपलब्ध गराउने घोषणा गरेका छन् ।

क्षति मूल्याङ्कन गर्न समिति
यसैगरी जेनजी आन्दोलनको क्रममा भएको क्षतिको यकिन विवरण संकलन गर्न भन्दै गाउँ कार्य पालीकाको बैठकले उपाध्यक्ष अनितादेवी यादवको नेतृत्वमा नौ सदस्यीय क्षति मूल्याङ्कन समिति गठन गरेको जनाएको छ । उक्त समितिमा प्रमुख प्रशासकीय अधिकृत दिपेशकुमार झा, ५ न: वडा अध्यक्ष साह जमाल, लेखा शाखा प्रमुख सुरप्रसाद दंगाल, जिन्सी शाखा प्रमुख श्याम किशोर मण्डल, प्राविधिक शाखा प्रमुख सरोज यादव, प्रशासन शाखा प्रमुख बिनोद मिश्र लगायत रहेका छन् ।











