इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीका नयाँ प्रहरी प्रमुख एसपी संजयसिंह थापा सुनसरी आइपुगेका छन् । एसपी कमल थापाको सरुवा भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मेवारी पाएका थापा बुधबारदेखि कार्यभार सम्हालेका छन् ।
सुनसरीका प्रहरी प्रमुख कमल थापाको काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम अन्वेषण विकास तथा समन्वय शाखा रानीपोखरी सरुवा भएपछि उनको स्थानमा संजयसिंह थापा सुनसरीको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रमुख भएर बुधबार हाजिर भएका उनी अख्तियर दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय प्रहरी महाशाखा टंगाल काठमाडौमा कार्यरत थिए । सुनसरी आइपुगेका नयाँ प्रहरी प्रमुख एसपी थापालाई जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रहरी प्रमुख तथा डिएसपी नगेन्द्र कार्कीलगायतले एक कार्यक्रमका बीच भव्य स्वागत गरेका थिए ।
सुनसरीमा आएका नयाँ एसपी सामू भारतसँगको खुला सीमानाकाका कारण हुँदै आएको चोरीपैठारी,अपराधीक गतिविधि, लागूऔषध नियन्त्रणलगायत विषय न्यूनीकरण र नियन्त्रण मुख्य चुनौतीका रूपमा रहनेछन् ।









