इनरुवा । मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको सुनसरी प्रशासनले जनाएको छ । विपद व्यवस्थापनका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपद व्यवस्थापनको पूर्वतयारी, उद्दार, पुर्नस्थापना तथा राहतको काममा तीनवटै सुरक्षा निकायका साथै जिल्लाका सबै तहहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको उनको कथन छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न निकाय र स्थानीय तहको विभिन्न निकाय तथा सरोकारवालासँग समन्वय गरेर काम अगाडी बढाइसकिएको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन जिल्लाका १२ वटै स्थानीय तहहरुलाई निर्देशन दिदै हरेक स्थानीय तहले एक थान रबर बोट, ५० थान लाइफ ज्याकेट, चारदेखि पाँच रोल मेन डोरी, १० थान क्यारोबेना हुक, चार थान स्ट्रेचर र पाँच थान रेस्क्यु ट्युब तयारी अवस्थामा राख्नुपर्ने निर्णय गरिएको प्रजिअ ढकालको भनाइ छ । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले गोताखोर सहितको राहत तथा उद्धार टोली तयारी अवस्थामा राख्नुपर्नेछ । यसैगरी, राहत तथा उद्धारमा सक्रिय गैर सरकारी संस्थालाई पनि तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।
यसैगरी, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई २४ घण्टा सक्रिय बनाइने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

प्रत्येक स्थानीय तहले कम्तिमा दुईवटा आश्रयस्थलको व्यवस्था गरी उद्धार गरिएका व्यक्तिको तत्कालीन बासको प्रबन्ध गर्नुपर्नेछ । औषधि तथा चिकित्सकको व्यवस्था स्वास्थ्य कार्यालयले गर्नेछ । कटान नियन्त्रणका लागि तत्काल एक हजार थान तार जाली र २० हजार थान बोराको प्रबन्ध सिँचाइ डिभिजन कार्यालयले गर्नेछ ।









