कोशी ब्यारेज । केही दिनयता निरन्तर पानी पर्ने क्रम जारी रहेसँगै सुनसरीको कतिपय क्षेत्र डुवानमा परेका छन् । जिल्लाको कोशी गाउँपालीका वार्ड नम्बर ८ स्थित कोशी ब्यारेजका दुईदर्जन बढीको घरमा पानी पसेको छ भने एकपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । सप्तकोशीमा पानी बहाव बढ्दा कोशी ब्यारेज क्षेत्रका २५ जनाको घरमा पानी पसेको छ भने स्थानीय छेदु मण्डलको परिवार विस्थापित हुँदा स्थानीय कोशी आधारभूत बिद्यालयमा राखिएको छ । बिहीबारदेखि निरन्तर वर्षा भएपछि सप्तकोशी नदिमा पानीको बहाव बढ्दा स्थानीय बलराम मण्डल,रामपृत मण्डल, अजय मण्डल, जैमुल खातुन, कनिजा खातुन,बह्रमदेव कुमार मण्डललगायत २५ जनाको घरमा पानी पसेको हो ।

घरमा पानी पसेपछि आफूहरू घरको सबै सामान अन्तै सारेको स्थानीय बह्रमदेव कुमार मण्डलले बताए । कोशी ब्यारेजको नहरको पानी आफूहरूको घरमा पसेको बताउदै मण्डलले तत्काल घरमा बस्ने अवस्था नभएपछि छिमेकीकोमा बसेको बताए । १२ सदस्यीय परिवारसहित अर्काको घरमा बस्नुपर्दा समस्या भएको उनले सुनाए । वर्षेनि कोशी ब्यारेजका २५० घरपरिवारलाई नहरको पानीले डुबानमा पर्दै आएको कोशी गाउँपालीका वार्ड नम्बर ८ कि वडासदस्य एकावरीदेवी मण्डलले बताइन् । अघिल्लो वर्षसमेत स्थानीयवासी डुवानमा परेपनि रोकथाम गर्न कुनै ठोस योजना नबनाएकोमा उनले गुनासो गरिन् । डुवान हुनबाट स्थानीयलाई जोगाउन र उद्धार कार्यलाई तीव्रता दिन मण्डलले आग्रह गरेकी छिन् ।
उद्धारमा सक्रिय सुरक्षाकर्मी

सप्तकोसी नदिमा पानीको बहाव बढेसँगै कोशी ब्यारेज आसपासका सर्वसाधारणको घर घरमा पानी पसेपछि स्थानीय सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्धार कार्यमा जुटेका छन् । घरमा पानी पसेर बस्न नसक्ने भएपछि सर्वसाधारणहरुलाई उद्धार गरी स्थानीय बिद्यालयमा राखिएको छ । कोशी ब्यारेज क्षेत्रका स्थानीयवासीको घरमा पानी पसेपछि सशस्त्र प्रहरी तिनीहरुको उद्धार कार्यमा जुटेको सशस्त्र प्रहरी बल नेपाल बिओपी भण्टाबारीका इन्स्पेक्टर भुवन खड्काले जानकारी दिए ।









