भण्टाबारी । सुनसरीको कोशी गाउँपालीका ८ स्थित भण्टाबारीमा आयोजित एक कार्यक्रमकाबीच विभिन्न पार्टी परित्याग गर्दै सयौंजना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । स्थानीय तजमुल मन्सुरीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी ५२८ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ । उनीहरूलाई नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री कार्यक्रमका प्रमुख अतिथि मातृकाप्रसाद यादव,रामकुमारी चौधरीलगायतले पार्टी प्रवेश गरेका थिए ।

लामो समयदेखि राजनीतिक आन्दोलनमा आवद्ध रहेका स्थानीय नेता तजमुल मंसुरी, युवा नेता सज्जाद आलम सहित पाँच सय २८ नेता कार्यकर्ता शनिबार नेकपा माओवादी केन्द्रमा प्रवेश हुन् । नेकपा माओवादी केन्द्र कोशीका अध्यक्ष अरुण कुमार मण्डल, इन्चार्ज मनटुन यादव र जिल्ला अध्यक्ष योगेन्द्र मण्डल पप्पुको पहलमा पार्टीमा प्रवेश गराइएको हो । नेपालको परिवर्तनमा अहम् भूमिका खेलेको पार्टी नेकपा माओवादी केन्द्र भएकोले नेपाली काङ्ग्रेस,नेकपा एमाले,जनता समाजवादीलगायत विभिन्न पार्टी परित्याग गर्दै आफूहरू माओवादी केन्द्रमा प्रवेश गरेको नवप्रवेशी तजमुल मन्सुरीको भनाइ छ ।

माओवादी केन्द्र प्रति देशभर नै जनलहर बढेकाले त्यसलाई व्यवस्थित गर्ने, जनभावनाको कदर गर्ने र माओवादीको नीतिमा देश चलेकाले नेतृत्व पनि आफूहरुले गर्नुपर्ने दबाव स्वरुप पार्टीमा प्रवेशको क्रम बढेको नेता यादवले दाबी गरे । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व राज्यमन्त्री रामकुमारी चौधरीले माओवादीका कारणले देशमा संविधान, संघीयता र धर्मनिरपेक्षता आएकाले यो पार्टी जनताको पार्टी भएको बताइन् । उक्त कार्यक्रममा पार्टी सुनसरीका नेता तथा प्रदेश सदस्य मुकेश, पूर्व सभासद सन्तोष थारु , इनरुवा नगर संयोजक रमेश घट्टराई, नेतृ सपना परियार, अधिवत्ता पञ्चनारायण मण्डललगायतको उपस्थिति रहेको थियो ।








