लौकही । सुनसरीको कोशी गाउँपालिकामा पहिलो पटक कक्षा ११ को पठनपाठन सुरु हुने गरी कक्षा संचालनमा आएको छ । पहिलो वर्षमा कक्षा ११ मा अध्ययन गर्ने ३६ जना विद्यार्थी भर्ना भएको राष्टिय माध्यमिक विद्यालय कोशी ३ सोभनपुरमा कक्षा ११ को पठनपाठन सुरु हुने गरी कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले आइतबार कक्षाको उद्घाटन गरेका छन् । कोशी गाउँपालीका वार्ड नम्बर ३ स्थित रहेको राष्ट्रिय मावि सोभनपुरमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष अन्सारीले वीधिवत रुपमा कक्षा ११ को भवन उद्घाटन गरेको विद्यालयका प्रधानाध्यापक हरिकृष्ण राउतले जानकारी दिए ।

पहिलो वर्ष शिक्षा र व्यवस्थापन संकायको पढाई सहित कक्षा ११ को पठनपाठन सुरु गरेको उनले बताए । विद्यालयमा नयाँ शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसारको पुस्तक समेत निशुल्कमा वितरण गरिएको छ । कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले छ सय पूर्णाङ्कको अध्ययन गर्ने छ त्यसमा नयाँ पाठ्यक्रमअनुुसार नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन गरी तीन विषय अनिवार्य पढ्नु पर्ने पुस्तक वितरण गरिएको प्रअ राउतको भनाइ छ । विद्यालयमा ऐच्छिक विषय छनोटका लागि विषयगत दुई समूह निर्माण गरिएको छ । विद्यार्थीले शिक्षा र व्यवस्थापन समूहमध्ये आफूले चाहेको विषय छनौट गर्नसक्नेछन् ।

गाउँमै प्राविधिक शिक्षासँगै व्यवस्थापन र शिक्षा संकाय अन्तर्गत कक्षा ११ पढाउन थालेपछि कोशी गाउँपालीका क्षेत्रका मात्रै नभइ गढी, भोक्राहा नरसिंह गाउँपालीकाका साथै बरहा नगरपालिकाबाट समेत उक्त विद्यालयमा अध्ययन गर्न विद्यार्थी आउने क्रम बढ्दो छ । कोशी गाउँपालीका क्षेत्रमा प्राविधिक विषय पढाउन थालेपछि विद्यार्थीका साथै अभिभावकलाई आर्थिक भार कम भएको छ ।

अनेकौं चुनौतीका बाबजुद प्राविधिक शिक्षासँगै गाउँमै उच्च शिक्षा अध्ययनअध्यापन गराउन सफल भएको गाउँपालीकाका अध्यक्ष अन्सारी बताउँछन् । ´कोशी गाउँपालीका दलित र विपन्न समुदायको बसोबास भएको क्षेत्र हो उनले भने तिनीहरुले चाहेर पनि आर्थिक अवस्थाका कारण छोराछोरीलाई इन्जिनियर र ओभरसियर वा उच्च शिक्षा पढाउन सकेका छैनन् । ´एउटा हुनेखानेका छोराछोरीले मात्र नभइ हुँदाखाने वा एउटा मुसहर समुदायका छोराछोरी पनि इन्जिनियर र ओभरसियर बनोस् उच्च शिक्षा हासिल गरोस् भन्ने उद्देश्यले उच्च शिक्षा पढाउन थालेका हौं´ अध्यक्ष अन्सारीले भने ।

उद्घाटन कार्यक्रममा प्रमुख अथिति तथा कोशी गाउँपालिकाका अध्यक्ष अन्सारीले आफू निर्वाचित भएपछि शिक्षाको विकासका लागि काम गर्ने प्रतिवद्धता अनुसार करारका शिक्षक नियुक्तीदेखी उच्च शिक्षा र प्राविधिक धार समेत संचालन गरेको बताए ।

सोभनपुर माविमा प्राविधिकधारको सिभिल इन्जिनियरिगं र अहिले कक्षा ११ र १२ पढ्नका लागि ११ कक्षाको उद्घाटन गरिएको उनको भनाइ छ । उद्घाटन कार्यक्रममा कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादव, कोशी ३ का वडा अध्यक्ष सुलेमान मंसुरी, शिक्षा शाखा प्रमुख वेदराज अधिकारी,कोशी गाउँपालीका अध्यक्षका स्वकीय सचिव धर्मेन्द्र विश्वास, समाजिक शाखा प्रमुख राजकिशोर मेहता,वडा सदस्यहरु र शिक्षक तथा प्रधानाध्यापकहरुलगायतको उपस्थिती रहेको थियो ।









