लौकही । सूचना संचार तथा प्रविधि मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले १४ औं महाधिवेशनबाट काङ्ग्रेस पार्टीलाई जनताको घरदैलोमा पुर्याउने नेतृत्व चयन गर्न आग्रह गरेका छन् । कोशी गाउँपालीका वार्ड नम्बर १ स्थित लौकहीमा निर्माण गरिएको बीपी अध्ययन प्रतिष्ठानको भवन उद्घाटनसँगै सुनसरी क्षेत्र नम्बर ४ को प्रदेशसभा क्षेत्र क र ख तथा प्रतिनिधिसभा क्षेत्रको क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै मन्त्री कार्कीले बुधबार सो आग्रह बताएका हुन् ।

वर्तमान शेरबहादुर देउवा सरकारमा सूचना संचार तथा प्रविधि मन्त्रीसँगै सरकारका प्रवक्ता रहेका कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद समेत हुन । १४ औं महाधिवेशन काङ्ग्रेसका निम्ति उत्सवको रूपमा रहेको बताउदै उनले भने ´जिल्ला सभापतिलाई लगायत सबै मिलेर सर्वसहमतीमै नयाँ नेतृत्व चयन गर्नोस् यदि त्यस्तो हुन् सकेन भने नेपाली काङ्ग्रेस पार्टीलाई जनताको घरदैलोमा पुर्याउने व्यक्तिलाई निर्वाचित गराऔं ।` भावना,उत्तेजनामा आएर होइन गम्भीर भएर नेतृत्व चयन गर्नुपर्नेमा जोड दिदै मन्त्री कार्कीले अगाडि थप्दै भने ´तपाईंको एक भोटले लोकतन्त्र कता लाने भन्ने निर्णय गर्नेछ । त्यसैले भावनामा बगेर होइन गम्भीर भएर नेतृत्व चयन गर्नुपर्ने आवश्यकता छ ।` जनताका आकांक्षाअनुसार काम गर्ने व्यक्तिलाई आफ्नो समर्थन रहेको स्पष्ट पार्दै मन्त्री कार्कीले १४ औं महाधिवेशनबाट सुनसरी जिल्लामा सहमतिबाट नै नेतृत्व चयन गर्न सबैमा आह्वान समेत गरेका थिए ।

नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीको नेतृत्वमा जनताका भावनाअनुसार काम गरिएको बताउदै उनले नेपाली जनता चेतनशील रहेकाले अबका दिनमा भाषणअनुसार काम गरिनुपर्नेमा जोड दिए । नेपाली जनताले मात्रै नभई अन्तर्राष्ट्रिय जगतले शेरबहादुर देउवा नेतृत्वको सरकार चाहेको दाबी गर्दै मन्त्री कार्कीले नेपाली काङ्ग्रेस १४ औं ´महाधिवेशनबाट देउवा नै सभापतिमा निर्वाचित हुनेमा आफू विश्वस्त रहेको बताए । ´जनताले भरोसालायक काङ्ग्रेस चाहेको छ `उनले भने ´त्यसैले क्षेत्रदेखि केन्द्रसम्म सहि नेतृत्व छनोट गर्नुपर्ने आजको आवश्यकता हो ।` फरक प्रसंगमा मन्त्री कार्कीले नेपाली काङ्ग्रेसकै नेतृत्वमा गरिबी,बेरोजगारी समस्या अन्त्य भई देश समृद्ध बन्ने दाबी गरे ।

कार्यक्रममा बोल्दै सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीले नेपाली काङ्ग्रेसको १३ औं महाधिवेशनबाट नेताकार्यकर्ताले आफूलाई क्षेत्रीय सभापति पदमा निर्वाचित गराएपछि गुटबन्दी नगरी समग्र काङ्ग्रेस पार्टी बलियो बनाउन काम गरेको र आगामी दिनमा समेत सोहिअनुसार काम गर्न पुनः सभापतिमा उम्मेदवारी दिएको म्यासेज नेताकार्यकर्तामा प्रभाव गर्ने उद्देश्यले लौकहीमा वृहत् कार्यक्रम गरिएको बताए ।


सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीको सभापतित्व र मन्त्री कार्कीको प्रमुख आतिथ्यमा आयोजना गरिएकोमा कार्यक्रममा सुनसरी क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद सिताराम मेहता,नेपाली काङ्ग्रेस सुनसरीका पूर्व जिल्ला सभापति रामबहादुर बस्नेत, नेपाली काङ्ग्रेस सुनसरीका सभापति तथा प्रदेश नम्बर १ प्रमुख प्रतिपक्षी दल नेता राजीव कोइराला,सचिव केदार भण्डारी,नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र ४ का सभापति उम्मेदवारी जमिल अख्तर आजाद, इनरुवा नगरपालिकाका मेयर राजन मेहता,हरिनगर गाउँपालीकाका अध्यक्ष गफार अन्सारीलगायतले बोलेका थिए भने सो कार्यक्रम नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सचिव राजेन्द्र मेहताले संचालन गरे । कार्यक्रममा विभिन्न वडाका वडा सभापतिहरु,क्षेत्रीय प्रतिनिधि,पालीका सभापति तथा नगरसभापति, प्रदेश तथा महाधिवेशनलगायत विभिन्न पदका सम्भावित उम्मेदवारहरुका साथै नेपाली काङ्ग्रेसका सयौं नेताकार्यकर्ताहरुको उपस्थिति रहेकोे थियो ।








