इनरुवा । लामो समयदेखि फरार रहेका डाका मुद्दा एक अभियुक्तले कानुनी कारबाहीबाट बच्न आफ्नै मृत्यु दर्ता प्रमाणपत्र बनाएको खुलेको छ ।डाका मुद्दामा फरार प्रतिवादी साविक चाँदबेला वार्ड नम्बर १ हाल इनरुवा नगरपालिका ७ का अजिज मियाँले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र बनाएर उम्कने प्रयास गरेको खुलेको हो ।

२०६८ सालमा रामधुनी ५ का जैयस कुमार साहको घरमा मियाँ लगायतका तीनजनाको समूहले डाका गरेका थिए । उनीहरूलाई जिल्ला अदालतले २०७५ असार ११ गते जनही ६ वर्ष कैद र ९९ हजार जरिवाना फैसला गरेको थियो । मियाँलाई समेत डाका मुद्दामा अदालतले ६ वर्ष कैद र ९९ हजार जरिवाना तोकेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले आफू जिउँदो रहँदै आफू जिउँदो रहँदै डाका मुद्दाका फरार अभियुक्त मियाँले कानुनी कारबाहीबाट उम्कन झुठो मृत्यु दर्ता प्रमाणपत्र बनाएको खुलेको बताए । मियाँले २०७४ पुष २७ गते आफ्नो मृत्यु भएको भनेर स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट फर्जी मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए ।

प्रहरीले उनलाई पटक–पटक पक्राउ गर्न प्रयास गर्दा उनले अजिजको मृत्यु भइसकेको भन्दै आफुलाई अजिजका भाईका रूपमा चिनाउदै आएका थिए । घटनाका पीडित र अर्का अभियुक्त लुचाई शर्मा खत्वेले उनी नै अजिज भएको सनाखत गरेपछि मात्र उनलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो । फरार रहँदै आएका मियाँलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेपनि मंगलबार मात्रै सार्वजनिक गरेको हो । प्रहरीले पक्राउका लागि गरेको प्रयासमा उम्कदै आएका उनी ‘अजिजको मृत्यु भैसकेको छ, उ फटाहा नै थियो’ भन्दै ढाँट्दै आएका थिए । आफू अजिजको भाइ भन्दै भ्रम छर्दै आएको जनाउँदै एसपी थापाले पक्राउ परेका मियाँमाथि थप अनुसन्धान तथा कारबाही अगाडि बढाएको जानकारी दिए । यसैबीच सुनसरी प्रहरीले चारमहिनाको अवधिमा विभिन्न मुद्दाका फरार ५६५ जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले साउनदेखि कार्तिकसम्म ५६५ जना फरार अभियुक्तलाई पक्राउ गर्नुका साथै डेढ करोडबढीको विभिन्न सामान बरामद गरेको जनाएको छ ।
एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...









