इनरुवा । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आईतवार हुने जिल्ला अधिवेशनका लागि सुनसरी सभापतिमा केदार भण्डारी विरुद्ध संजय श्रेष्ठले आ आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन् । नेपाली काङ्ग्रेस सुनसरीका वर्तमान उपसभापति समेत रहेका श्रेष्ठले संस्थापन र सचिव भण्डारीले संस्थापन इतर पक्षबाट शनिबार मनोनयन दर्ता गराएका हुन । वडा, पालिका, प्रदेश र क्षेत्रको अधिवेशन सम्पन्न भएपछि आइतबार जिल्ला अधिवेशनको निर्वाचन हुन लागेको हो ।
नेपाली काङ्ग्रेसको पार्टी कार्यालय इनरुवामा दुवै पक्षका सभापति पदका उम्मेदवार उनीहरूले शनिवार आ आफ्नो प्यानलसहित मनोनयन दर्ता गराएका थिए । सभापति पदका उम्मेदवार संजय श्रेष्ठले विगतमा भएका राम्रा कामको अनुसरण गर्दै सबै पक्षलाई समेटेर स्थानीयस्तरबाट संगठन बलियो बनाउने उद्देश्यले आफूले उम्मेदवारी दिएको बताए । यसैगरी सभापति पदका अर्का उम्मेदवार केदार भण्डारीले विगतमा भएका उदाहरणीय कार्यहरुलाई आत्मसाथ गर्दै पार्टीको संगठनलाई मजबुत बनाउने कार्यमा सक्रिय रहेकाले सभापति पदको लागि उम्मेदवारी दिएको बताए ।
यस्ता छन् उम्मेदवार
जिल्ला सभापतिमा उम्मेदवारी दिएका संजय श्रेष्ठको प्यानलबाट उपसभापति पदका लागि हरिनगर गाउँपालीकाका अध्यक्ष समेत रहेका गफार अन्सारी मियाँ र महेश दत्तले उम्मेदवारी दिएका छन् भने केदार भण्डारी नेतृत्वको प्यानलबाट नगेन्द्र चन्द्र राई र पंकज कुमार महतोले उम्मेदवारी दिएका छन् । उनीहरुमध्ये दुई जना चुनावी प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन । यसैगरी सचिव पदका लागि प्रमोद कुमार पोखरेल, माधव बहादुर घिसिङ्ग, रन्जेश भट्टराई, रमेश पाल र विरेन्द्र कुमार साहले उम्मेदवारी दिएका छन् । चुनावी प्रतिस्पर्धाबाट दुईजना सचिव पदमा निर्वाचित हुनेछन् । रन्जेश भट्टराई र विरेन्द्रकुमार साह संस्थापन पक्षका उम्मेदवार श्रेष्ठ नेतृत्वको प्यानलबाट उम्मेदवार दिएका छन् ।
यस्तै सहसचिव पदमा कालुराम चौधरी, गणेश सुब्बा, गिरधारी प्रसाद साह, गणेशकुमार राय र रमेश कटुवाल र सुनिल कुमार साहले उम्मेदवारी दिएका छन् । सहसचिव उम्मेदवार गणेश सुब्बा र गणेशकुमार राय संस्थापन पक्षका उम्मेदवार श्रेष्ठ नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका छन् । नेपाली काङ्ग्रेस सुनसरीमा दुई हजार ९ सय २७ मतदाता रहेका छन् ।