इनरुवा । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला सचिव पदका उम्मेदवार रन्जेश भट्टराईले पुनः मतगणनाको मागसहित उजुरी दिएका छन् । जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि आइतवार सम्पन्न निर्वाचनको मतपरिणामले सचिव पदका उम्मेदवार भट्टराई निकटतम प्रतिद्वन्दी माधव घिसिङसँग एक मतले पछि पर्दै पराजित भएकोमा उनले पुनः मतगणनाको मागसहित सोमबार उजुरी दिएका हुन् ।

नेपाली काङ्ग्रेस सुनसरी सभापति पदका लागि संस्थापन पक्षबाट संजयप्रसाद श्रेष्ठको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका भट्टराईले मतपरिणाम अस्विकार गर्दै पुनः मतगणना हुनुपर्ने माग गरेका छन् । संस्थापन इतर पक्षबाट सचिव पदमा बिजयी भएका माधव घिसिङ १ हजार २ सय २९ मत ल्याई विजयी भएभने भट्टराईले १ हजार २ सय २८ मत ल्याई एक मतले पछि परेका थिए । सचिव पदका उम्मेदवार भट्टराईले मतपरिणाम आफनो पक्षमा आउने दाबी गर्दै निर्वाचन कार्यालयमा उजुरी दिएको जानकारी दिए । यता जिल्ला निर्वाचन अधिकृत उत्तम पौडेलले सचिव पदका उम्मेदवार रञ्जेश भट्टराईले पुनः मतगणनाका लागि उजुरी दिएको पुष्टि गर्दै नेपाली काङ्ग्रेस पार्टी कार्यालय सुनसरीमा मतगणना सम्पन्न भएपछि मतगणना पुनः गर्ने वा नगर्ने बारे उजुरीका आधार निर्णय गरिने बताए ।








