इनरुवा । दुई कार्यकाल सचिवको जिम्मेवारी सम्हालेका केदार भण्डारी नेपाली काङ्ग्रेसको १४ औं जिल्ला अधिवेशनबाट सुनसरी सभापतिमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार सभापतिमा भण्डारीले १४२२ मत ल्याई निर्वाचित भएका हुन भने निवर्तमान उपसभापति समेत रहेका संजयप्रसाद श्रेष्ठले १३०९ मत ल्याई पराजित भएका छन् ।

यसैगरी उपसभापतिमा १३३५ मत ल्याई नगेशचन्द्र राई र १३१२ मत ल्याई निवर्तमान कोषाध्यक्ष पंकजकुमार महतो निर्वाचित भएका छन् उनीहरूका प्रतिद्वन्दी हरिनगर गाउँपालीकाका अध्यक्ष गफार अन्सारी मियाले १२९७ मत र महेश दत्तले ११६६ मत ल्याई पराजित भएका छन् । त्यसैगरी सचिव पदमा १४६७ मत ल्याई विरेन्द्रकुमार साह र १२२९ मत ल्याई माधवकुमार घिसिङ निर्वाचित भएका छन् भने उनीहरूका प्रतिद्वन्दी रन्जेश भट्टराईले १२२८ र प्रमोद पोखरेलले १०९२ मत र रमेश पालले ९२ मत ल्याई पराजित भएका छन् ।

त्यस्तै सहसचिव पदमा गणेश सुब्बाले १३०५ र मनिषकुमार रायले ११७७ मत ल्याई निर्वाचित भएका छन् भने उनीहरूका निकटतम प्रतिद्वन्दी सुनिलकुमार साहले १०७० मत, गिरधारीप्रसाद साहले १०४३ मत, रमेश कटुवालले २६७ मत र कालुराम गुरुङले ३४१ मत ल्याई पराजित भएका छन् । सभापतिमा संस्थापन इतर पक्षबाट भण्डारी नेतृत्वमा उम्मेदवारी दिएका दुवैजना उपसभापति निर्वाचित भएका छन् भने सचिवमा भने सबैभन्दा मत ल्याई विजयी भएका विरेन्द्रकुमार साह संस्थापन पक्षका उम्मेदवार हुन् । यसैगरी संस्थापन पक्षबाट सचिव पदमा उम्मेदवारी दिएका रन्जेश भट्टराईलाई एक मतको झिनो अन्तरले पछि पार्दै संस्थापन इतर पक्षका माधवकुमार घिसिङ सचिवमा निर्वाचित भएका छन् । यस्तै सहसचिवमा निर्वाचित भएका दुवैजना संस्थापन पक्षका उम्मेदवार हुन् । त्यस्तै १३६४ मत ल्याई उपेन्द्रप्रसाद मेहता अपांग केन्द्रिय महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् भने ११६३ मत ल्याई देवेन्द्र पौडेल अपांग महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन ।

यस्ता छन् भण्डारी जित्नुका कारण
पेसाले अधिवक्ता समेत रहेका केदार भण्डारी नेपाली काङ्ग्रेसका नेताकार्यकर्तामाझ मात्रै होइनन् जनतासमक्ष समेत लोकप्रिय नेताको छवि बनाएका व्यक्ति हुन् । दुई कार्यकाल जिल्ला कार्य समिति सचिव पदको जिम्मेवारी सम्हालेका उनी नेपाली काङ्ग्रेसको मात्रै होइनन् अन्य कार्यक्रमहरुमा समेत गए नेताकार्यकर्ता समस्या बुझ्दै समस्या समाधान गर्दै आएका छन् । त्यसको ठिकविपरीत १४ औं महाधिवेशनमा भण्डारीविरुद्ध सभापतिमा उम्मेदवारी दिएका संजय श्रेष्ठ नेताकार्यकर्ता माझ परिचित व्यक्ति होइनन् । ´१३ औं महाधिवेशनबाट जिल्लाको उपसभापति जस्तो जिम्मेवार पदमा पुगेपनि श्रेष्ठ पार्टीको कार्यक्रममा बिरलै देखिन्थे` नाम उल्लेख नगर्न आग्रह गर्दै नेपाली काङ्ग्रेसका एक कार्यकर्ताले भने । ´१४ औं महाधिवेशन अन्तर्गत भएका अधिकांश कार्यक्रममा समेत उहाँको उपस्थिति थिएन पार्टीको कार्यक्रममा समेत भाषण गरेको थाहा छैन,यो पाराले नेताकार्यकर्ता र जनताका समस्या नबुझ्ने व्यक्ति कसरी चुनाव जित्न सक्छ र?`ति कार्यकर्ताले प्रतिप्रश्न गर्दै भने । नेपाली काङ्ग्रेस पार्टी वडादेखि जिल्लास्तरका नेताकार्यकर्तासँगै जनतामाझ समेत उत्तिकै असल र निष्पक्ष छवि बनाएका भण्डारी जस्ता व्यक्ति सभापतिमा निर्वाचित भएकाले सकारात्मक सन्देश प्रभाव भएको ति कार्यकर्ताको भनाइ छ ।

प्रतिद्वन्दी उम्मेदवारको तुलनामा नेताकार्यकर्ता समक्ष घुलमिल भएका केदार भण्डारीलाई व्यक्तिगत लोकप्रियता र सचिव पदमा रहदा दिएको योगदान १४ औं महाधिवेशनबाट सुनसरी सभापतिमा निर्वाचित हुनुका मुख्य कारण देखिएको भोक्राहा नरसिंह गाउँपालीका वार्ड ८ नेपाली काङ्ग्रेसका वडा सभापति कलिम मन्सुरी बताउँछन् । संस्थापन इतर पक्षको पकड रहदै आएको सुनसरी जिल्लामा पछिल्लो समय शेरबहादुर देउवाका विश्वासिलो पात्र मानिएका ज्ञानेन्द्रबहादुर कार्की र विजय गच्छदारको सक्रियता बढेका कारण संस्थापन पक्ष बलियो बन्दै गएको हो । सभापति भन्दा बढी मत ल्याएर सचिव पदमा एकजना निर्वाचित हुनु,अर्का उम्मेदवार मात्र एकमतले पराजित हुनु, दुवै सहसचिवका उम्मेदवार जित्नुले समेत सुनसरी जिल्लामा संस्थापन पक्ष विगतभन्दा बलियो बन्दै गएको पुष्टि गर्दछ ।
आन्तरिक निर्वाचनमा हारजित हुँदैन : सभापति भण्डारी

यसैबीच संचारकर्मीसँग प्रतिक्रिया दिदै नवनिर्वाचित नेपाली काङ्ग्रेस सुनसरी सभापति केदार भण्डारीले पार्टीको आन्तरिक निर्वाचन भएकाले कसैको जितहार नभएको बताए । ´लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास गर्ने नेपाली काङ्ग्रेस पार्टीको आन्तरिक निर्वाचन हो यसमा कसैको जितहार हुँदैन` उनले भने । ´मलाई यहाँसम्म पुर्याउन मद्दत गर्नुहुने पार्टीका अग्रज तथा अभिभावक वर्ग,साथीभाइले दिएको जिम्मेवारी आत्मसात गर्दै उहाँहरुको भावनाविपरीत कुनै कार्य गर्ने छैन` सभापति भण्डारीले थप्दै भने । `तपाईंहरुले दिएको जिम्मेवारी निर्वाह गर्न सक्छु वा सक्दिनँ भन्ने सधैं चिन्ता रहनेछ तपाईंहरुले दिएको माया र विश्वासका आधारमा नेपाली काङ्ग्रेस पार्टीलाई अझ अगाडि बढाउन प्रेरणा मिलोस् ।` नेपाली काङ्ग्रेस पार्टीलाई अझै उच्चमा पुर्याउन आगामी दिनमा आफू केन्द्रित हुने बताउदै उनले अग्रज नेताकार्यकर्ताबाट निरन्तर सल्लाहसुझावको अपेक्षा राखेको बताउँछन् ।








