मिकाइल आलम
सुनसरी । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने निर्वाचनमा पूर्वका उम्मेदवार जिताउन प्रदेश नम्बर १ का उम्मेदवारहरुले जोड दिएका छन् । नेपाली काङ्ग्रेस सुनसरीले आइतबार बिहान काठमाडौमा गरेको एक कार्यक्रममा बोल्दै उनीहरूले नेपाली काङ्ग्रेस पार्टीलाई सुदृढ बनाउन योग्य,क्षमतावान, सक्षम र पार्टीप्रति कटिबद्ध भएर लागेका उम्मेदवारहरुलाई भोट गर्न आग्रह गरेका छन् । स्थानीय समस्या समाधान गर्नको लागि केन्द्रियस्तरमा आवाज पुर्याउन सकभर प्रदेश १ का उम्मेदवार जिताउन आवश्यक रहेकोे उक्त कार्यक्रमका वक्ताहरुको जोड थियो ।

कार्यक्रममा बोल्दै उपसभापति पदका उम्मेदवार महेश आचार्यले नेपाली काङ्ग्रेस पार्टी बिस्तारै जोखिम तर्फ जादै गरेको बताउदै भने गुटबन्दीको धमिराले पार्टीलाई खान थाल्यो भन्ने चिन्ता छ । पार्टीमा स्वच्छ प्रतिस्पर्धा गर्ने मौका भन्दा पनि पैसा र बल प्रयोग बढेकाले नेताकार्यकर्ताको स्वभिमान कुल्चिदै गएको छ । पार्टीमा स्वच्छ प्रतिस्पर्धा गर्ने ठाउँमा गुटबन्दीको धमिरा खाएको हुँदा आफ्नो उम्मेदवारी दिएको नेता आचार्यको भनाइ छ । सोही कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रिय सभापति राजीव ढुंगानाले नेपाली काङ्ग्रेस पार्टीलाई नयाँ ढंगले हाक्न आवश्यक रहेकाले त्यसको लागि नितिनिर्माण तहमा युवाको प्रतिनिधित्व जरुरी भएकाले आफूले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको बताए । पार्टीलाई नयाँ ढंगले हाक्नुपर्ने अहिलेको आवश्यकता हो उनले भने त्यसको लागि हिजाका गलतीबाट पाठ सिकेर सुदृढ काङ्ग्रेस बनाउन आवश्यक देखिएकाले आ आफ्नोस्तरबाट सहयोग गरौं । काङ्ग्रेस सुदृढ बनाउने हो भने प्रशिक्षित कार्यकर्ता, अनुशासित संगठन बनाउनेदेखि युवामैत्री काङ्ग्रेस, युवाका मुद्दा सम्बोधन गर्न युवा सहभागिता आवश्यक रहेकाले आफूले उम्मेदवारी दिएको ढुंगानाको भनाइ छ । राष्ट्रियता,जनजीविकाका सवालमा खरो रूपमा उत्रने काङ्ग्रेस बनाउन भागबन्डाका आधारमा नभई नीति र विधानअनुसार चल्ने काङ्ग्रेस बनाउन युवाहरूलाई मतदान गर्न उनको आग्रह छ ।

संविधान निर्माण गर्नेदेखि हरेक जातजाति र समुदायको पहिचान स्थापित गराउन आफ्नो अहम् योगदान रहेको बताउदै नेपाली काङ्ग्रेसका निवर्तमान उपसभापति तथा पुनः उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदारले मेचीदेखि महाकालीसम्मका काङ्ग्रेसलाई जोड्न शेरबहादुर देउवा नेतृत्वको प्यानल जित्नुपर्ने दाबी गरे । विगतमा सबै वर्ग र समुदायको हक अधिकार स्थापित गराउन काङ्ग्रेस चुकेको हुँदा आफूले २०६४ सालमा पार्टी परित्याग गरेको स्मरण गर्दै उनले भने विजयकुमार गच्छदार भाषण गर्न होइन, काम गर्न काङ्ग्रेस फर्केको हो । नेपाली काङ्ग्रेस पार्टीलाई मजबुत बनाउन योगदान दिनसक्ने व्यक्तिलाई मतदान गर्न उनको आग्रह छ ।

नेपाली काङ्ग्रेस सुनसरीको दुई कार्यकालपछि प्रदेश नम्बर १ संसदीय दल नेता समेत रहेका राजीव कोइरालाले प्रदेश सभापति बन्ने चाहना भएपनि त्यसो हुन नसकेपछि भूगोलका आधारमा प्रदेश १ बाट केन्द्रिय सदस्य उम्मेदवार बनेकाले आफूलाई मतदान गर्न आग्रह गरे ।

नेपाली काङ्ग्रेस पार्टीको केन्द्रिय सदस्य उम्मेदवार बनेका बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले काङ्ग्रेस पार्टीलाई जनप्रीय पार्टी बनाउन योगदान दिनसक्ने व्यक्तिलाई पहिचान गर्दै १ नम्बर प्रदेशको प्रतिनिधि बढी भन्दा बढी हुनुपर्नेमा जोड दिए । नेपाली काङ्ग्रेस पार्टीलाई सबैको साझा पार्टी बनाउदै नेपाललाई विकासउन्मुख बनाउन आवश्यक रहेकाले मन र मस्तिष्कबाट मनन गरेर मतदान गर्न केन्द्रिय सदस्यका उम्मेदवार डाक्टर अबुल हुसेन अन्सारीले आग्रह गरे । नेपाली काङ्ग्रेस सुनसरीका सभापति केदार भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै भण्डारीले १४ औं महाधिवेशन राष्ट्रिय पर्वका रूपमा रहेकोे बताउदै वडादेखि प्रदेशस्तरका निर्वाचन आएको परिणाम बिर्सेर सुनसरी काङ्ग्रेस एकजुट भएर कुनै गुट वा समूह नहेरी सुनसरीको प्रतिनिधित्व हुनेगरी मतदान गर्न आग्रह गरे ।








