इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले दुईदिनको अवधिमा हतियारसहित चारजना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका ३ स्थित महेन्द्रचोकबाट २८ गते साँझ र २९ गते बिहान गरी दुई थान हतियारसहित ४ उनीहरूलाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा खटिएको टोलीले इनरुवा-३ महेन्द्रचोकबाट बुधबार साँझ ६:३० बजेको समयमा कटुवा पेस्तोल र प्लाष्टिक भित्र Global IME Bank लेखेको कागजमा पोको पारेको BMM KF लेखिएको गोली राउण्ड १ सहित जिल्ला सुनसरी हरिनगर गाउँपालिका वडा नं ७ घुस्की बस्ने २० वर्षका सबिर मियाँलाई पक्राउ गरेको थियो । उनको साथबाट ज. २ प ५१९४ नम्बरको मोटरसाईकल समेत बरामद गरी हातहतियार तथा खरखजाना मुद्धामा म्याद थप लिई आवश्यक कानूनी प्रकृया अघि बढाई थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

यसैगरी बिहीबार बिहान ६:३० बजेको समयमा पूनः सोही स्थानबाट प्रहरी टोलीले एक थान अटोमेटिक पेस्तोल, ७.६५ एम. एम. को ३ राउण्ड गोली र २ थान म्यागजिन बरामद गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला सुनसरी हरिनगर गाउँपालिका वडा नम्बर ७ घुस्की बस्ने वर्ष ३१ को सवरेज मियाँ, सोही स्थान बस्ने वर्ष २५ को सिकन्दर मलाहा र वडा नम्बर ६ बस्ने २३ वर्षिय फरियाद अन्सारी रहेका छन् । साथै निजहरुले प्रयोग गरेको को. १८ प ६२२५ र को. ६ प १०९ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ । पक्राउ परेका तीनैजना व्यक्तिहरु बिरुद्ध हातहतियार तथा खरखजाना मुद्धामा म्याद थप लिई आवश्यक कानुनी प्रकृया अघि बढाई थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।









