भण्टाबारी । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सुनसरीमा पूर्व सतर्कताका लागि जिल्ला प्रशासन कार्यालयले सक्रियता बढाएको छ । छिमेकी मुलुक भारतसहित देशका विभिन्न भागमा संक्रमण दर बढ्दै जाँदा त्यसको रोकथाम तथा नियन्त्रणको पूर्व तयारीका लागि प्रशासनले सक्रियता बढाएको हो ।

कोभिड–१९ को संक्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्यरुपमा पालना गर्न/गराउने आग्रह गरिएको छ । सार्वजनिक स्थलमा अनावश्यक भिडभाड नगर्न,सार्वजनिक गाडीमा सिटभन्दा बढी यात्रु नचढाउन, मेला महोत्सव आयोजना नगर्ने/नगराउने निर्णयलाई कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विगतमा संचालनमा आएका आइसोलेसन सेन्टरलाई स्थानीय तह तथा सम्बन्धित सरोकारवालाको समन्वयमा तयारी अवस्थामा राख्ने, कोभिड–१९ को परीक्षणको दायरा बढाउन र नियमित खोप केन्द्रमा खोपलाई अभियानका रुपमा आगाडि बढाउन स्वास्थ्य कार्यालयले आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
सीमामा हेल्थ डेस्क
यसैबीच कोरोना भाइरसको तेस्रो लहर बढिरहेको बेला नेपालसँग खुला सीमा रहेको जिल्लाको कोसी गाउँपालीका ८ स्थित भण्टाबारी नाकामा हेल्थ डेस्क संचालनमा ल्याइएको छ । भारतमा संक्रमण दिनप्रतिदिन बढिरहेको अवस्थामा त्यसलाई रोकथाम गर्ने उद्देश्यले कोसी गाउँपालीका ८ भण्टाबारीस्थित तिनकुने नाकामा हेल्थ डेस्क स्थापना गर्दै उच्च सतर्कता अपनाइएको कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।

भण्टाबारी नाकाहुँदै सुनसरी आवातजावत गर्ने व्यक्तिबाट संक्रमण फैलन सक्ने भएकाले सीमामा कडाई गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । नेपाल भित्रिन सक्ने अवस्थालाई ध्यानमा राखी भारतसँगको भण्टबारीको मुख्य नाकामा कोरोना भाइरस सङ्क्रमण जाँचमा कडाइ गरिएको प्रजिअ यादवको भनाइ छ । कोरोना भाइरस सङ्क्रमण जोखिम पूर्वतयारी स्वरुप भण्टाबारी सीमा नाकाका हेल्थ डेस्क व्यवस्थित पारिएको बताउदै उनले नाकामा बुधबारदेखि हेल्थ डेस्क संचालनमा आएको बताए । उक्त हेल्थ डेस्कमा स्क्रीनिङ्ग, एन्टिजेन परिक्षण, खोप लगाउने र सूचना प्रवाह गर्दै कोरोनाको तेस्रो लहरबाट बच्न प्रचारप्रसार गरिने बताइएको छ ।








