इनरुवा । आउँदो स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट इनरुवा नगरपालिकाको उपमेयर पदमा बबियाकि सहजादी प्रवीणले दाबी गरेकी छन् । १४ औं महाधिवेशनबाट नेपाली काङ्ग्रेस पार्टीको जिल्ला सदस्य पदमा निर्वाचित भएकी उनले आगामी निर्वाचनमा आफू इनरुवा नगरपालिकाको उपमेयरको दाबेदार भएको बताएकी छन् । इनरुवा नगरपालिका मुस्लिम समुदायको उल्लेखनिय बाहुल्यता भएको क्षेत्र भएकोले पार्टीले यसपटक टिकट वितरण गर्दा सो कुरालाई मध्यनजर राख्दै उम्मेदवार छनोट गर्नुपर्नेमा प्रवीणको जोड छ ।
आफू लामो समयदेखि नेपाली काङ्ग्रेस पार्टीमा आवद्ध हुनुका साथै सक्रिय रूपमा विभिन्न संघसंस्थाहरुमार्फत ग्रामीण भेगका सर्वसाधारणहरुलाई जागरुक बनाउने काम गर्दै आएको उनले बताइन् । सुनसरी सदरमुकाम इनरुवादेखि दक्षिणी भेगमा मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बबिया गाउँमा सहजादीसँगै उनकी छोरी अल्बिना प्रवीणको संयुक्त प्रयासले समाजमा बालविवाह, दाइजो र महिला हिंसा सम्बन्धि सचेतना बढेको स्थानीय बताउँछन् । आफ्नो संस्कृति जोगाउदै परम्पराका रूपमा मानिएको गलत कुरा त्याग्न उनीहरू कटिबद्ध भएर लागेकी छन् । समाजमा विकराल समस्याका रूपमा रहेको बालविवाह, दाइजो प्रथा तथा महिला हिंसा न्यूनीकरण गर्ने अभियानमा लामो समयदेखि लागेको हुँदा त्यस्ता समस्या निराकरण गर्न आफूले यसपटक उपमेयरमा दाबी गरेको सहजादीको कथन छ ।
तराई मधेसमा शिक्षा र चेतना अभावमा बालविवाह र दाइजो प्रथा जस्ता समस्या यथावत रहेकोे बताउदै उनले समाजमा चेतना बढाएको अवस्थामा यस्ता समस्या अन्त्य हुने बताउछिन् । जिल्लाकै पुरानो सहर भएर पनि पछाडि परेको इनरुवा नगरपालिकालाई भौतिक पूर्वाधारमा सुविधासम्पन्न बनाउनुका साथै समाजिक समस्याहरु समाधान गर्ने उद्देश्यले जनस्तरमा चेतनामूलक कार्यक्रम गर्नुपर्नेमा सहजादीको कथन छ । इनरुवा नगरपालिका क्षेत्रमा मुस्लिम समुदायको उल्लेख्य उपस्थिति रहेकोे बताउदै उनले मदरसा शिक्षा सुधार गर्न बर्सेनि कार्यक्रम गर्नुपर्नेमा जोड दिएकी छिन् । नेपाली काङ्ग्रेस पार्टीले टिकट वितरण गर्दा मुस्लिम समुदायलाई समेटेर उम्मेदवार छनोट गर्नेमा आफू आशावादी रहेको उपमेयरकी दाबेदार सहजादीको विश्वास छ ।
देवानगञ्जमा स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्य तालीम
जुगेस दास देवानगञ्ज। देवानगञ्ज गाउँपालिकामा डिप्रेसनजस्तो गम्भीर मानसिक समस्याबारे जागरूकता फैलाउन विशेष कार्यक्रमको आयोजना गरिएको छ। तीन दिनसम्म चल्ने यस...