इनरुवा । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीले कोशी गाउँपालिकामा काङ्ग्रेस पार्टी अन्य कुनै पार्टीसँग गठबन्धन नगरी चुनाव लड्ने तयारीमा रहेकोे बताएका छन् । बिहीबार साझ संचारकर्मीसँग कुराकानी गर्दै कोशी गाउँपालीकाका अध्यक्ष समेत रहेका अन्सारीले नेपाली काङ्ग्रेस कोशी,भोक्राहा नरसिंह ,हरिनगर,इनरुवा,देवानगंज क्षेत्रमा पाँच दलीय गठबन्धन नगरी एक्लै चुनावमा उम्मेदवार उठाउने तयारीमा रहेको बताए ।
कोशी गाउँपालिकामा तीन ठुला दल नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल बराबरको अवस्थामा नरहेकाले चुनावी गठबन्धन गर्ने अवस्था नभएको उनको तर्क छ । काङ्ग्रेसको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिको अगुवाईमा विगत पाँच वर्षको अवधिमा कोशी गाउँपालिकामा जनअपेक्षाअनुसार व्यापक तवरबाट विकास निर्माणकार्य हुनुका साथै पार्टीको गुणात्मक संगठन समेत बिस्तार भएकोले यसपटक काङ्ग्रेस पार्टीले अन्य पार्टीसँग चुनावी तालमेल नगरी उच्च मनोबलका साथ पालिका चुनाव एकलै लड्ने उनको कथन छ । पछिल्लो पाँच वर्षको अवधिमा कोशीमा काङ्ग्रेस अन्य पार्टीको तुलनामा निकै मजबुत भएको सभापति अन्सारीले भने त्यसैले हामीलाई कमजोर देखाउने गरी आफ्नो हैसियत मजबुत देखाउँदै दुष्प्रचार गरिरहेको बखतमा हामीले आफ्नै बलमा चुनाव जित्ने आँट गरेका छौं ।
स्थानीय तहको नीतिले गर्दा कम समयमा देशैभर सबै पालिकाहरूमा भौतिक पूर्वाधार विकासको लहर आएको बताउदै उनले वर्तमान परिप्रेक्ष्यमा कोशीमा मुख्य सडक, पुलहरू, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा भएको विकास निर्माणकार्यको श्रेय पाउन समेत काङ्ग्रेस एक्लै चुनावमा जानैपर्छ । उनले आफ्नो पार्टीको संगठन अधिकांश वडाहरूमा अन्य पार्टीभन्दा सुदृढ रहेकोले कोशीमा नेपाली काँग्रेसले कसैसँग गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको उनको दाबी छ । यता नेपाली काँग्रेस सुनसरीका सभापति केदार भण्डारीले सुनसरीका १२ वटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहमा ५ दलिय गठबन्धन हुने र अन्य बाँकी स्थानीय तहमा गठबन्धन हुने सम्भावना कमै रहेको बताए । सभापति भण्डारीका अनुसार धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिकामा ५ दलिय गठबन्धन हुने सम्भावना प्रबल देखिएपनि बाँकी स्थानीय तहहरुमा गठबन्धन हुने अवस्था निकै कम रहेको हो ।








