लौकही । सानो सहयोगले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ । कोशी गाउँपालीका क्षेत्रका करिब एक दर्जन महिलामा यस्तै परिवर्तन आएको छ । कोशी गाउँपालीकाको कार्यालयले दिएको सिलाइ–कटाइ तालिमले ती महिलामा राम्रै परिवर्तन ल्याएको पाइएको छ । अघिल्लो वर्ष तीन महिने र यो वर्ष ४५ दिने सिलाइ–कटाइ तालिमपछि उनीहरूको दैनिकी मात्रै फेरिएको छैन, आफ्नै खुट्टामा उभिन सक्ने भएका छन् । कोसी गाउँपालीकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत स्तराेन्नति तर्फ सिलाईकटाई स्केलअप सीप विकास तालिम कोशी गाउँपालीका ३ पश्चिम कुसाहास्थित पर्ती टोलमा सम्पन्न गरिएको नायब सुब्बा राजकिशोर मेहताले जानकारी दिए ।उक्त तालिममा काेशी महिला लघु उद्यमी समुहका ११ जनाको सहभागिता रहेको थियो । गत वर्ष ३ महिना तालिम लिएकोलाई याे वर्ष ४५ दिने तालिम दिएर आत्मनिर्भर बनाइएको मेहताको कथन छ ।
कोशी गाउँपालीका ३ स्थित पश्चिम कुसाहाकी गीता उराँव बिहानदेखि रातिसम्म कपडा सिलाउन व्यस्त हुन्छिन् । घरमै खोलिएको टेलरिङमा बित्छ, उनको दैनिकी । गीता कपडा सिलाएर दिनको आठ-नौ सय कमाउँछिन् । ‘हामीले दुई वर्षदेखि सिलाइ गरिरहेका छौं । राम्रै कमाइ हुन्छ । हामीलाई फुर्सद नै हुँदैन उनले भनिन् ।’ चाडबाडको बेलामा अझ भ्याइ–नभ्याइ हुन्छ तालिम लिएकी अर्की महिला ममता मेहताले थप्दै भनिन् ‘आफ्नै खुट्टामा उभिन सक्ने भएकोमा खुशी छु ।` आफ्नो खर्चका लागि मात्रै होइन, जिउनकै लागि अब उनीहरूलाई अरूको भर पर्नुनपर्ने भएको छ । यसैबीच तालिम लिएका महिलाहरुलाई आवश्यक मेसिनरी सामाग्री समेत गाउँपालीकाको कार्यालयले हस्तान्तरण गरेको छ ।
सहभागी ११ जना महिलाहरुलाई गतवर्ष मेशिन अनुदान दिएकोमा ४५ दिने तालिम समापनको अवसर पारेर यसपटक प्रत्येकलाई एक एक एउटा आइरन,काठकाे स्केललगायत सिलाई–कटाइको लागि आवश्यक अन्य सामाग्री हस्तान्तरण गरिएको कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगालले जानकारी दिए । सहभागी महिलाहरुलाई प्रशिक्षक फूलमाया लिम्बूले प्रशिक्षण दिएका थिए भने समापन कार्यक्रममा सहभागीलाई प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल,लेखा अधिकृत सूरप्रसाद दंगाल,कार्यपालीका सदस्य सरीता मण्डल, स्वकीय सचिव धर्मेन्द्र विश्वास,नायब सुब्बा राजकिशोर मेहतासहितकाले उनीहरूलाई प्रमाणपत्र तथा प्रशिक्षकलाई प्रशंसापत्र वितरण गरेका थिए । यसैबीच सिलाई कटान तालीमबारे प्रतिक्रिया दिदै कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले आफूहरूले महिला दिदीबहिनीलाई तालिम दिएर स्वरोजगारको बाटो देखाइदिएको बताए । ‘हामीले तालिममार्फत महिला दिदीबहिनीलाई बाटो देखाइदियो । उनीहरू त्यही काममा निरन्तर मेहनत गर्दै आज आफ्नै खुट्टामा उभिने भएका छन् उनले भने । घर व्यवहार चलाउन सक्ने भएका छन् ।’
जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी
इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला...