कोशी टप्पु । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीले आगामी स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउने अभियानमा जुट्न आह्वान गरेका छन् । सुनसरी क्षेत्र नम्बर ४ का प्रत्येक वडा वडाबाट नेताकार्यकर्तासँग राखिएको छलफल कार्यक्रमलाई बुधबार साँझ कोशी टप्पुमा सम्बोधन गर्दै उनले आगामी स्थानीय तह निर्वाचनमा एकढिक्का भएर जानुपर्नेमा जोड दिए ।

नेपाली काङ्ग्रेसले फागुन २९ गतेदेखि एक महिने ‘घरघर जाऔं, काङ्ग्रेस जिताऔं’ अभियान सुरु गरेको नेताकार्यकर्तालाई पुनः स्मरण गराउदै सभापति अन्सारीले उक्त अभियान आम नागरिकसंगको दोहोरो सम्वाद गर्न महत्त्वपूर्ण भएको बताए । यस अभियानमा जिल्ला कार्य समिति, प्रतिनिधिसभा क्षेत्रीय समिति, प्रदेश सभा क्षेत्रीय समिति,पालिका समिति वडा र टोल समितिबीच समन्वय हुनेछ । स्थानीय टोल समितिको अगुवाईमा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरु हरेक घर पुग्नेछन् । चुनावमा प्रचारप्रसार महत्त्वपूर्ण भएकाले त्यसमा विशेष ध्यान दिनुपर्नेमा उक्त छलफल कार्यक्रमका सहभागीहरुको जोड थियो । आफू वडा कार्य समितिले सिफारिस गरेको आकांक्षीहरुको जनस्तरबाट मूल्यांकन गर्दै वडाध्यक्ष,वडासदस्यलगायत पदमा जित्ने उम्मेदवारलाई मात्रै टिकट वितरण गर्नेमा सभापति अन्सारीले प्रतिबद्धता व्यक्त गरे ।

१४ औं महाधिवेशनमा नेपाली काङ्ग्रेसका नेताकार्यकर्ताले पुनः क्षेत्रीय सभापतिको जिम्मेवारी दिएर आफूमाथि गरिएको विश्वास यथावत राख्दै आगामी स्थानीय तह निर्वाचनको लागि टिकट वितरण गर्दा हाम्रो मान्छे नभई राम्रो र जित्ने मान्छेलाई प्राथमिकता दिइनेमा ढुक्क भएर बस्न उनले सबैमा अपिल गरे । ´१४ औं महाधिवेशनबाट मलाई नेपाली काङ्ग्रेसका नेताकार्यकर्ताले क्षेत्रीय सभापतिमा पुनः निर्वाचित गराएर ठुलो जिम्मेवारी दिएका छन् सभापति अन्सारीले भने उनीहरू विश्वासलाई कायम राख्दै कुनै गुट उपगुट नभनी स्वच्छ र निष्पक्ष तवरले टिकट वितरण गर्छौ । कोही कसैसँग अन्याय गर्दैनौं ।` निर्वाचनमा पद सिमित भएको र आकांक्षी धेरै भएकाले टिकट बाड्फाड चुनौतीपूर्ण भएपनि पार्टीमा लामो समयदेखि संर्घष गरेका, जनताले पत्याएका व्यक्तिलाई टिकट वितरण गरिने उनको कथन छ । पार्टीको बिधि र जनताको माग र आवश्यकताका आधारमा टिकट वितरण गरिने भएकाले टिकट पाएका व्यक्तिलाई आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन जिताउने अभियानमा जुट्न सबैमा सभापति अन्सारीको आग्रह छ ।

सोही छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाली काङ्ग्रेसका नेता तथा १४ औं महाधिवेशनमा नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ सभापति पदका उम्मेदवार जमिल अख्तर आजादले पार्टीमा जिम्मेवार लिन चाहने व्यक्तिको संख्या धेरै हुनु स्वभाविक भएको बताउदै पार्टीमा दिएको योगदानका आधारमा टिकट वितरण गर्नुपर्नेमा जोड दिए । नेपाली काङ्ग्रेस पार्टी लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने पार्टी भएको स्मरण गराउदै उनले आन्तरिक प्रतिस्पर्धामा कोही जित्नु वा हार्नु स्वभाविक भएपनि निर्वाचनमा मिलेर जानुको विकल्प नभएको बताए । पार्टीबाट टिकट पाउने उम्मेदवारहरुलाई कुनै गुट उपगुट नभनी रुख चिन्हमा बढी भन्दा बढी मतदान गरेर निर्वाचित गराउन आजादले सबैमा आग्रह गरे । पार्टी अब गुट उपगुटबाट माथि उठेर एकजुट हुनुको विकल्प नभएको छलफलमा सहभागी नेपाली काङ्ग्रेसका नेताकार्यकर्ताहरुको भनाइ थियो । उक्त छलफल कार्यक्रममा नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का उपसभापति अर्थात सुनसरी क्षेत्र नम्बर ४ प्रदेश (क ) का सभापति उपेन्द्र कटुवाल,प्रदेश (ख ) का भिखारी मण्डल,सचिव रोशनकुमार खड्का,जुगेश्वर यादव,कोशी गाउँपालीकाका सभापति सुलेमान मन्सुरी,भोक्राहा नरसिंह गाउँपालीका सभापति युवराज दाहाल,नेपाली काङ्ग्रेसका नेता विष्णु मण्डल,सत्रुघन यादव,अलाउद्दिन मियाँलगायत दर्जनौं नेताकार्यकर्ताको उपस्थिति रहेकोे थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








