लौकही । “मानव-वन्यजन्तु सहअस्तित्व हाम्रो साझा दायित्व” भन्ने नाराका साथ कोसी टप्पुमा २७ औं वन्यजन्तु सप्ताह मनाइएको छ । वन्यजन्तुको संरक्षणलाई केन्द्रित हरेक वर्ष मनाउँदै आएको वन्यजन्तु सप्ताह वैशाख १ देखि ७ गतेसम्म कोसी टप्पु वन्यजन्तु आरक्षमा मनाइएको हो । यसवर्ष वन्यजन्तु सप्ताहमा दुर्लभ अर्ना, हात्ती,चराचुरुङ्गीलगायतका वन्यजन्तु संरक्षणमा गरिएका प्रयासको समिक्षा गर्दै समुदायमा आधारित सचेतना कार्यक्रम सम्पन्न गरिएको कोसी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए । पछिल्लो केही वर्षयता मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको कुरालाई मध्यनजर गर्दै सप्ताहमार्फत सहअस्तित्वको विषयलाई जनस्तरसम्म लाने प्रयास गरेको उनको भनाइ छ । कोसी टप्पु वन्यजन्तु आरक्षभित्र रहेका हात्ती,अर्नासहितका जनावरहरुले मानव बस्ती पसेर मानिसलाई आक्रमण गर्ने, अन्नबाली खाइदिने,घरमा तोडफोड गर्ने जस्ता कारणले मानव र वन्यजन्तुबीचको अस्तित्व संकटमा पर्दै गएकोले त्यसतर्फ समयमै सचेत हुनुपर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।

वन्यजन्तुलाई पर्यटनसँग जोडेर गरिदै आएको क्रियाकलापले स्थानीयवासी लाभान्वित हुनुपर्ने जोड दिदै पर्यटन व्यवसायी सुरज गिरीले वन्यजन्तु संरक्षण गरेबापत हुने आम्दानीको हिस्सा स्थानीयको आयआर्जन र सामुदायिक विकासमा खर्च हुनुपर्ने बताए । वन्यजन्तु हाम्रो सम्पत्ति हुन भन्ने कुरा आरक्ष क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई बुझाउन सकेको अवस्थामा वन्यजन्तु संरक्षण गर्न सहयोग पुग्ने उनको सुझाव छ । वन्यजन्तुले क्षति गरेबापत सर्वसाधारणलाई राज्यले दिने क्षतिपूर्ति पाउन प्रक्रिया झन्झटिलो भएको भन्दै पश्चिम कुसाहा लौकही उपभोक्ता समितिका अध्यक्ष राजकुमार सिंहले मध्यवर्ती र आरक्षको सहकार्यमा स्थानीयस्तरमा कोष निर्माण गरी तत्काल राहत दिने व्यवस्था मिलाउन आग्रह गरे । सोही कार्यक्रममा आफ्नो धारणा राख्दै स्थानीय भोजराज काफ्लेले कोसी टप्पुको विकासमा आवश्यकताअनुसार काम हुन नसकेको गुनासो गर्दै पर्यटन व्यवसायीको व्यक्तिगत पहलमा पर्यटक आउने गरेको पाइएकाले सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिए । पर्यटन व्यवसायीको व्यक्तिगत पहल र प्रयासमा कोसी टप्पुमा पर्यटक आउने गरेका छन् उनले भने सहकार्य गरेर काम भएको पाइदैन । सोलार जडान मात्रै गरिएको छ त्यसको काम छैन काफ्लेले गुनासो गर्दै अगाडि भने सामुदायिक वन र उपभोक्ता समितिको काम पनि कागज मात्रै सिमित छ ।

त्यस्तै सप्ताह व्यापी समापन कार्यक्रममा बोल्दै रविन घिमिरेले घरपालुवा जनावर बाहिर निकाल्न, आरक्ष विस्तार गर्न, आरक्षबाट आश्रित परिवार पहिचान गर्न, उपभोक्ता समिति चलायमान बनाउन कानुन संसोधन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा उठेका जिज्ञासा् र गुनासोलाई सम्बोधन गर्दै प्रमुख संरक्षण अधिकृत खतिवडाले आएको कुरालाई सुझावका रूपमा लिएर अगाडि बढ्ने बताए । वन्यजन्तुको संरक्षण गर्न राज्यपक्ष मात्र लागेर नहुने बताउदै उनले त्यसको लागि आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे । मानव र वन्यजन्तुबीच द्वन्द्वका कारण संरक्षणमा चुनौती देखिएको बताउदै खतिवडाले सोही कुरालाई ध्यानमा राखेर वन्यजन्तु सप्ताह अन्तर्गत वन्यजन्तुको महत्त्व र यसबाट हुने फाइदाको विषयमा समुदायलाई बुझाउन गाउँ गाउँ र बस्ती बस्तीमा जनचेतनामूलक कार्यक्रम गरिएको बताए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








