इनरुवा । नेपाली कांग्रेस इनरुवा नगर उपसभापति बिनिता दाहालले बैशाख १२ गते इनरुवा नगर उपप्रमुखका लागि दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएकी छिन् । नेपाली कांग्रेसबाट इनरुवा नगर उपप्रमुखमा टिकट पाउने चर्चा रहेको बेला इनरुवा–२ की बिनिता मेहताले नेपाल कांग्रेसबाट उपप्रमुखमा टिकट पाएपछि दाहालले उक्त पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी थिइन र बैशाख १२ दाहालले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् ।
नेपाली कांग्रेसका अग्रज नेताहरुको सल्लाह र सुझाव अनुसार नेपाली कांग्रेस इनरुवा नगर उपसभापति दाहालले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको नेपाली कांग्रेस श्रोतले जनाएको छ ।
स्वतन्त्र उम्मेदवारी फिर्ता लिएकी दाहालले पार्टीको बिधि र विद्यान अनुसार बैशाख ३० गते हुने गइरहेको स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई बिजयी गराउने गरी आजदेखी चुनावी अभियानमा सक्रिय भएर लागेको जानकारी दिइन् ।
पार्टीले मुल्यांकन नगरेकोले आवेगमा आफुले नगर उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएको र पार्टीलाई जिताउन कठिनाई भएको अवस्थालाई मध्यनजर गर्दै आफुले साथ सहयोग गर्न उम्मेदवारी फिर्ता लिएको दाहालले जानकारी दिइन् ।