इनरुवा । इनरुवामा विपक्षी दलले जनतामाझ जातीय फन्डा झिकेर फाटो ल्याउन खोजेको भन्दै त्यस्ता भ्रममा नपर्न नेपाली काङ्ग्रेसले आग्रह गरेको छ । नेपाल काङ्ग्रेस सुनसरीका सभापति तथा इनरुवा नगरपालिकाका मेयर पदका उम्मेदवार केदार भण्डारीले विपक्षी दलले मुस्लिम समुदायमाथि निराधार हल्ला फिजाएर जातीय सदभाव खलल हुने किसिमका अभिव्यक्ति दिने गरेको प्रति सचेत हुन सबैमा आग्रह गरेका छन् ।
‘विपक्षी दलहरूमा पराजित मानसिकता देखिन थालेपछि काङ्ग्रेस मुस्लिम समुदाय विरुद्ध छ भनेर अफवाह फैलाइएको रहेछ’ भण्डारीले भने, ‘यस्ता प्रोपोगण्डामा विश्वास नगरौँ ।’ इनरुवाको स्थानीय तहमा काङ्ग्रेसले मुस्लिम समुदायलाई समेत समेटेर उम्मेदवार बनाएको बताउँदै भण्डारीले काङ्ग्रेस जातीय एकतामा सदैव सम्मान र विश्वास गर्ने पार्टी भएको बताए । साथै मेयरका उम्मेदवार भण्डारीले बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा फेरी पनि काङ्ग्रेस इनरुवामा अत्याधिक मत ल्याएर बिजयी हुने बताए । इनरुवामा गठबन्धन नभएपनि काङ्ग्रेस एक्लैले ५ देखि ७ हजारको मत अन्तरले बिजयी हुने भण्डारीले दाबी गरे ।
साथै इनरुवालाई कृषि नगरको रुपमा विकास गदै यहाँका कृषकहरूलाई १२ महिनै मल र बीउ उपलब्ध गराउने आफ्नो प्रमुख कार्य योजना रहेको भण्डारीले बताए । साथै कृषकहरूलाई आवश्यक सिँचाइको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने आफ्नो योजना रहेको बताउँदै भण्डारीले इनरुवामा सुविधा सम्पन्न नगर अस्पताल र कलेज बनाउने समेत बताएका छन् ।








