मिकाइल आलम
इनरुवा । भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष पदको लागि नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट अजमल अख्तर आजादले उम्मेदवारी दिएका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा झिनो मतले पछि पर्दै पराजित भएका अजमल पारिवारिक विरासत धान्ने व्यक्ति समेत हुन । नेपाली राजनीतिमा आफ्नो समयमा एउटा छुट्टै पहिचान बनाएका स्वर्गीय डाक्टर खलिल आजादका माइलो सन्तान हुन अजमल अख्तर आजाद ।

२०२७ साल जेष्ठ १५ गते तत्कालीन भोक्राहा गाविस वडा नम्बर ४ आजाद टोलमा जन्मेका अजमल विद्यार्थी जीवनबाट राजनीति थालेका व्यक्ति हुन । मधुवन जनता माविबाट २०४४ सालमा १७ वर्षको उमेरमा राजतन्त्रको विरुद्धको आन्दोलन गर्दै आफूले राजनीतिक यात्राको सुरुवात गरेको उनलेे बताए । २०४४ सालदेखि राजनीतिमा होमिएका अजमल २०४६ सालको जनआन्दोलनमा सक्रिय भई बिराटनगरमा आयोजित प्रथम जनआन्दोलनमा सहभागी हुँदा प्रहरीबाट निर्घात तरिकाले कुटिए । “राजतन्त्रको विरुद्धको आवाज उठाउदा त्यतिबेला प्रहरी प्रशासनले कुटेर झन्डै मारेको थिए” आफ्नो सुरुवाती दिन सम्झिदै अजमलले भने । कुटाइ खाएपनि केही साथीहरूको सहयोगमा मुश्किलले त्यतिबेला ज्यान जोगाउन सफल भएको बताउने उनले घर आएपछि भने बुवा खलिल आजादलाई राजतन्त्रको विरुद्ध आवाज उठाउदा घरमै नजरबन्दमा राखेको पाए भने जेठो दाई जमिल अख्तर आजादलाई लौकहीमा प्रहरी हिरासतमा राखे पनि उनी आफ्नै अडानबाट पछि हटेनन् निरन्तर राजतन्त्रको विरुद्ध आवाज उठाइरहेका थिए ।

२०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले जनताबाट निर्वाचित संसद विघटन गरेपछि तत्कालीन नेपाली काङ्ग्रेस पार्टीका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विघटित संसद स्थापनाको लागि आयोजित विभिन्न आन्दोलन, जनजागरण तथा अनशनसमेत बस्दै आन्दोलनमा सक्रिय भएका थिए अजमल अख्तर आजाद । २०६२/०६३ सालको आन्दोलनको क्रममा नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट शान्तिपूर्ण सभा सम्मेलनमा सहभागी हुँदा समेत आफू दमन परेको अजमलको भनाइ छ । २०४६ सालमा जनता मावि मधुवनको नेविसंघ सदस्य भएर राजनीतिक यात्रा थालेका अजमल २०५० सालमा तरुण दल भोक्राहा गाउँ एकाइ सभापति तथा नेपाली काङ्ग्रेसको १२ औं महाधिवेशनदेखि १४ औं सम्म क्षेत्रीय प्रतिनिधि हुँदै हाल प्रदेश प्रतिनिधि भएर सक्रिय राजनीति गरिरहेका छन् । उनी नेपाल मुस्लिम संघ सुनसरीको संस्थापक अध्यक्षका साथै हाल केन्द्रिय सदस्य हुन । भोक्राहा नरसिंह गाउँपालीकामा विगत जितेका जनप्रतिनिधिहरुले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्न नसकेको बताउदै अजमलले आफूले जितेको अवस्थामा भोक्राहा नरसिंह गाउँपालीका विकासमा फड्को मार्ने दाबी गर्छन् ।

सुशासन,आपसी भाइचारा,पारदर्शिता,भ्रष्टाचाररहित स्थानीय तह बनाउन भोक्राहा नरसिंह गाउँपालीकामा नेपाली काङ्ग्रेस बाहेक अर्को कुनै विकल्प नरहेकोे उनको भनाइ छ् । आफूलाई जनताले विश्वास गरेर निर्वाचित गराएको अवस्थामा जनताको मर्म र भावनाअनुसार चौतर्फी विकास निर्माणकार्यलाई तीव्रता दिइने अजमलको योजना रहेकोे छ । यसपटक नेपाली काङ्ग्रेसको तर्फबाट भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष पदको लागि अजमल अख्तर आजाद,उपाध्यक्ष पदको लागि सुनिताकुमारी उराँव,१ नम्बर वडाध्यक्ष पदको लागि युवराज दाहाल, २ नम्बर वडाध्यक्ष पदको लागि आलम अन्सारी,३ नम्बर वडाध्यक्ष पदको लागि जुगेश्वर यादव, ४ नम्बर वडाध्यक्ष पदको लागि हारुन अन्सारी, ५ नम्बर वडाध्यक्ष पदको लागि हारुन अन्सारी,६ नम्बर वडाध्यक्ष पदको लागि सेराजुद्दिन अन्सारी, ७ नम्बर वडाध्यक्ष पदको लागि कौशल मण्डल र ८ नम्बर वडाध्यक्ष पदको लागि हाजी उसमान उर्फ भोला अन्सारी चुनावी मैदानमा छन् ।








