इनरुवा । जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीको आयोजनामा बाढीको कृत्रिम घटना अभ्यास गरिएको छ । कोसी गाउँपालीका ४ स्थित कोसी कटानमा बुधबार उक्त पूर्वाअभ्यास कार्यक्रम सम्पन्न गरिएको हो ।

बाढीको बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनःताजगीका लागि खोज तथा उद्धारकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ हरेक वर्षझैँ यस वर्ष पनि बाढी कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको सुनसरी प्रशासनले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको प्राविधिक सहयोगमा बाढीको कृत्रिम घटना अभ्यास सम्पन्न गरिएको छ । घटना अभ्यासमा उद्धार गरी ल्याइएका घाइतेलाई नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचारक टोलीले प्राथिमक उपचार सेवा प्रदान गरी एम्बुलेन्समार्फत नजिकको अस्पतालमा पठाउने कार्य भएको थियो । बाढीको कृत्रिम घटना अभ्यासमा सबै सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७९ मनसुन पूर्वतयारी कार्ययोजनाअनुसार सोको प्रभावकारिताका लागि योजनाको परीक्षणसमेत गर्नुपर्ने व्यवस्था भएबमोजिम कार्यक्रम आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीका अध्यक्ष इन्द्रदेव यादवले कृत्रिम अभ्यासले बाढीका बखत जनशक्ति तथा आवश्यक खोज तथा उद्धार सामग्रीको पूर्वतयारी गर्न सहयोग पुग्ने बताए । ‘यस्ता अभ्यासले विपद् प्रतिकार्य गर्न प्रभावकारी हुनेछ । मनसुन सक्रिय हुनलागेको र बाढी आइहालेमा त्यसको प्रतिकार्य गर्न जिल्ला तयारी अवस्थामा रहेको छ,’ प्रजिअ यादवले भने । बाढी कृत्रिम अभ्यास कार्यक्रममा नेपाली सेना र सशस्त्र प्रहरी बलसँग रहेको मोटरबोट, रवरबोटलगायतका खोज तथा उद्धार सामग्रीको प्रयोग गरिएको थियो ।

उक्त अभ्यासका क्रममा सुख्खा मौसममा हुने आगलागी, वर्षाको बेला आउने बाढी र त्यसपछि हुने सर्पदंश सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको थियो । कृत्रिम घटना अभ्यासका क्रममा दुईवटा दमकल, ६ वटा एम्बुलेन्स,एउटा स्काभेटर,दुईवटा रबर बोट, एउटा मोटर बोड,लाइफ ज्याकेट सहितका बन्दोबस्ती गर्ने सामाग्री प्रयोग गरिएको थियो । उक्त जिल्ला बिपद् व्यवस्थापन समिति सुनसरीको आयोजना तथा कोसी र भोक्राहा नरसिंह गाउँपालीकाको संयोजन एवं रेडक्रस सोसाइटी जिल्ला शाखा सुनसरीको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी,हरिनगर गाउँपालीकाका अध्यक्ष गफार अन्सारी,भोक्राहा नरसिंह गाउँपालीकाका अध्यक्ष अजमल अख्तर आजाद, सुनसरी प्रहरी प्रमुख एसपी संजयसिंह थापा,सशस्त्र प्रहरी प्रमुख विक्रम हुमागाई,जिल्लाका जनप्रतिनिधि,विभिन्न सरोकारवाला निकायहरु, विपद्सँग सम्बन्धित विभिन्न संघसंस्था, राजनैतिक दलका प्रतिनिधि,सुरक्षाकर्मी निकायका प्रमुख एक प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








