इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रबाट लागूऔषधसहित सशस्त्र प्रहरीले दुईजना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ३ बस्ने २३ वर्षका गोविन्द सिंह र धरान उपमहानगरपालिका वडा नम्बर २ बस्ने २२ वर्षका प्रकाश पौदार रहेका छन् । भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ६ स्थित इसराइल कामतबाट लागूऔषधसहित उनीहरू पक्राउ परेका हुन ।
बुधबार राति भारतीय बजारबाट को ६ प ८१५९ नम्बरको अपाची मोटरसाइकलमा लुकाएर ल्याइएको लागूऔषधसहित दुईजना युवालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेक्वा सुनसरीका प्रमुख एसपी विक्रम हुमागाईले जानकारी दिए । भारतीय बजारबाट लुकाएर ल्याइएको लागूऔषधसहित सशस्त्र प्रहरी बल बिओपी लौकहीबाट खटिएको टोलिले चेकजाँचको क्रममा सिंह र पौदारलाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेका उनीहरूको साथबाट २१ बोतल डाइलेक्स डिसी फेला पारिएको छ भने आवश्यक कारबाहीको लागि दुवैजनालाई नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।








