लौकही । सामुदायिक बिद्यालय सुधार अभियानमा लागेका कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले शिक्षा क्षेत्र सुधारमा आफू कमप्रमाइज नगर्ने बताएका छन् । कोसी गाउँपालीका वडा नम्बर ८ स्थित भण्टाबारीका विद्यार्थीहरुको समस्या बुझ्दै अध्यक्ष अन्सारी बिहीबार सो कुरा बताएका हुन । आफू निर्वाचित भएदेखि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका सुधारका साथै आवश्यकता अनुसार शिक्षकको व्यवस्था गर्दै पूर्वाधार विकासको लागि पहल गर्दै आएको अध्यक्ष अन्सारी बताउँछन् । सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको खस्कँदो मोहलाई बढाउन आफूले शिक्षा ऐन र नियमावली निर्माण गरी सुधारको पहल थालेको उनले बताए ।
कोसी गाउँपालीकाले अभिभावक र सरोकारवालासँग छलफल गर्दै शिक्षकलाई सक्रिय बनाउने, विद्यार्थी नभएका विद्यालयलाई गाभ्ने, विद्यालय व्यवस्थापन समितिलाई सक्रिय बनाउने, शिक्षकको सरुवा र पदस्थापन गर्ने, सामुदायिक विद्यालयमै अंग्रेजी माध्यमको पढाइ सुरु गर्ने र जनप्रतिनिधिले नै घरदैलो गरेर भर्ना अभियान प्रभावकारी बनाउने काम गरिरहेको अध्यक्ष अन्सारीको कथन छ । संविधानले स्थानीय तहलाई दिएको अधिकार प्रयोग गरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पहल गर्दै आएको उनको दाबी छ । कोसी गाउँपालीकाले गाउँपालीका क्षेत्रमा संचालित सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पढाइ सुरु गर्ने तयारी समेत गरेको छ । कम्तीमा आधारभूत तहसम्मको शिक्षा अंग्रेजी माध्यमबाटै गराउन सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने तयारी गरिएको हो ।
यसैबीच बिद्यालय टाढा हुँदा अध्ययन गर्न समस्या भएको,सार्वजनिक बसमा यात्रा गर्दा जोखिम बढेको भन्दै आन्दोलित कोसी जनता मावि हरिपुरमा अध्ययनरत विद्यार्थीको माग सम्बोधन गर्न कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी सकारात्मक देखिएका छन् । बुधबार दिउँसो कोसी गाउँपालीका वडा नम्बर ८ स्थित भण्टाबारीमा करिब डेढ घण्टा पूर्व पश्चिम लोकमार्ग अवरुद्ध गरेका विद्यार्थीको समस्या बुझ्न आएका अध्यक्ष अन्सारीले विद्यार्थीको माग उचित भएपनि माग कार्यान्वयन गराउने तरिका गलत भएको बताएका थिए । शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू कटिबद्ध भएर लागेको अवस्थामा विद्यार्थीहरुले आफ्ना समस्या र मागबारे स्थानीय जनप्रतिनिधि वा आफूलाई जानकारी गराउनुपर्नेमा चक्काजाम गर्नु गलत भएको उनको भनाइ छ । यद्यपि विद्यार्थीका कतिपय माग उचित देखिएकाले आफू त्यस्ता माग यथाशीघ्र समाधान गर्ने अध्यक्ष अन्सारीले प्रतिबद्धता व्यक्त गरे । कोसी गाउँपालीका वडा नम्बर ८ भण्टावारीबाट कोसी गाउँपालीका वडा नम्बर ७ स्थित हरिपुरमा अवस्थित रहेकोे कोसी जनता माविमा साधन अभावमा सधै सार्वजनिक बसमा यात्रा गर्दा विद्यार्थीहरुलाई समस्या देखिएको हुँदा उक्त समस्या समाधान गर्न तत्काल वडा नम्बर ८ स्थित रहेको श्री आधारभूत बिद्यालयमा कक्षा ९ सम्म पढाइ सुरु गर्न अनुमति दिने उनले बताए । त्यसरी कक्षा थप्दा आवश्यकताअनुसार शिक्षक र भौतिक पूर्वाधारलगायतको व्यवस्था आफू सक्दो छिटो गराउने अध्यक्ष अन्सारीले विद्यार्थी र अभिभावक समक्ष प्रतिबद्धता व्यक्त गरे ।