लौकही । कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले गाउँपालीकामा संचालन हुने योजनाहरुलाई प्राथामिकताका आधारमा अघि सार्न सहयोग गर्न यहाँका सक्रिय राजनीतिक पार्टीलाई आग्रह गरेका छन् । बुधबार कोसीमा सक्रिय राजनैतिक दलका प्रमुख र प्रतिनिधिहरुलाई गाउँपालीकामा बोलाएर सुझाव संकलन गर्दै अध्यक्ष अन्सारीले सो आग्रह गरेका हुन । स्थानीय सरकारले शिक्षा, स्वास्थ्य,कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने बताएपछि त्यसमा राजनैतिक दलहरुले ऐक्यबद्धता जनाएका छन् । गाउँपालीका भित्र धेरै योजना अघि सार्दा अनुगमनको पाटो कमजोर हुने र अनुगमन कमजोर हुँदा त्यस्ता योजनाले परिणाम नदिने भएकाले अब हरेक वडाका योजनालाई बजेट तथा नीति कार्यक्रममा समटे्दा प्राथमिकताका साथ सुझाँव दिन अध्यक्ष अन्सारीले दलहरु समक्ष आग्रह गरेका थिए । आगामी आर्थिक वर्ष २०७९/२०८० का लागि प्रस्तुत गर्ने बजेट तथा नीति कार्यक्रमका लागि राजनीतिक दलसँग सुझाव संकलन गर्ने उद्घेश्यले कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षतामा आयोजित सुझाव संकलन कार्यक्रममा नेपाली काङ्ग्रेस,जनता समाजवादी पार्टी नेपाल,लोकतान्त्रिक समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादी पार्टी,व्यापारी,बुद्धिजीवीलगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा सहभागी पार्टीका प्रमुख प्रतिनिधिहरुले पहिलो प्राथमिकतामा शिक्षा,स्वास्थ्य र कृषिलाई राखेर बाँकी योजनाहरु अघि सार्न सुझाव दिएका थिए । स्थानीय सरकारले अघि बढाउने आयोजनाहरुमा गाउँपालीकामा क्रियाशील राजनीतिक दलहरुको भूमिका उच्च हुने भएकाले साथ सहयोगको अपेक्षा गदैं अध्यक्ष अन्सारीले विकास निर्माणकार्यमा मिलेर जानुपर्नेमा जोड दिए । विगतमा जे जसरी योजना छनौट भए र त्यसले अहिले के कस्तो परिणाम दियो त्यसलाई हेरेर समयमै सकिने, उपलब्धिमुलक र परिणाम दिने योजना अघि सार्नुपर्ने पक्षमा आफू रहेको उनको भनाइ छ । कोसीलाई समृद्घ गाउँ बनाउन हरेक क्षेत्रको साथ सहयोगको उत्तिकै आवश्यकता औल्याउदैं अध्यक्ष अन्सारीले विभेदकारी भूमिकाले गाउँपालीकाको विकास नहुने बताए । सहभागीहरुले शिक्षा,स्वास्थ्य,कृषि, पर्यटनलगायतका योजनालाई पनि संगसँगै लैजानुपर्नेमा जोड दिएका थिए । विगतमा केही योजनाहरु समयमै सम्पन्न हुन नसकेको भन्दैं सहभागीहरुले योजना छनौट गर्दा तत्काल कार्यान्वयन हुने मात्र गर्नुपर्ने सुझाव गाउँपालीकालाई दिएका थिए । पहिचान भएको गाउँपालीकाको अग्रणी क्षेत्रहरु शिक्षा,कृषि र पर्यटनको समुचित विकासमा हरेक पक्षको भूमिका महत्वपूर्ण रहने भएपनि कृषियोग्य भूमि भएर पनि पर्याप्त सिचाइको सुविधा नहुँदा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको उल्लेख गर्दै सहभागीहरुले कृषकहरुलाई दिने अनुदानमा न्यायोजित वितरणमा ध्यान दिन आग्रह गरेका थिए ।
कोसी टप्पु जस्ता पर्यटन विकासको प्रचुर सम्भावना हुदाँहुँदै पनि पर्याप्त प्रचार प्रसार भईनसकेको अवस्थाले पर्यटन विकासलाई ओझेलमा पारेको र स्थानीय समुदायमा पर्यटन विकासको महत्व, सम्भावना र सीपलाई निजी क्षेत्रले समयमा नै बुझ्न नसक्दा कोसीमा पर्यटकहरुको आवागमन अपेक्षा अनुसार हुन नसकेको सहभागीहरूको भनाइ थियो । उक्त कार्यक्रममा कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी, उपाध्यक्ष अनिता यादव,प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, बुद्धिजीवी प्रमोद खेरवार,कार्यपालीका सदस्य राजकुमार साह, नेपाली काङ्ग्रेसका प्रतिनिधि सदानन्द मण्डल, जसपा नेपाल कोसी अध्यक्ष भुपेन्द्र खेरवार,लोसपा प्रतिनिधि राजकुमार सदा,नेकपा एकीकृत समाजवादी पार्टीका प्रतिनिधि वासिक आलम, व्यापारी शैलेश यादव,गंगा यादव, हरेकृष्ण राउत, श्यामसुन्दर सिंह अमिन मियाँ नेपालीलगायतको सहभागिता रहेकोे थियो । उक्त सुझाव संकलन कार्यक्रममा कोसी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगालले विभिन्न गतिविधिका बारेमा सहभागीलाई जानकारी गराएका थिए । प्राप्त उचित सुझावलाई अध्ययन गरी कार्यपालिकाको बैठकमा छलफल गरेर आगामी आर्थिक वर्ष २०७९/२०८० को बजेट तथा नीति कार्यक्रममा समेट्ने बताइएको छ ।








