इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालयले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको सम्बन्धमा अन्तर्क्रिया, छलफल र सुझाव संकलनको काम सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहलमा गाउँपालीकाका अध्यक्ष अजमल अख्तर आजादको अध्यक्षतामा उक्त कार्यक्रम शनिबार सम्पन्न गरिएको हो । सो कार्यक्रममा गाउँपालिकाकि उपाध्यक्ष सुनिताकुमारी उराँव, प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, १ देखि ८ नम्बरवडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, सामाजिक धार्मिक एवं सहकारी संघ संस्थाको पदाधिकारीहरू, सुरक्षा निकायको प्रमुखहरू, संचारकर्मीहरू, कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लेखा अधिकृत महेश राना मगरले नीति तथा कार्यक्रम र बजेट तर्जुमाको अवस्था र प्रकृयाको बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । छलफलको क्रममा ३२ जना सहभागीले विभिन्न सुझावहरू राखेका थिए । उक्त कार्यक्रममा सहभागीहरुले शैक्षिक क्षेत्र सुधारकालागि उच्चस्तरिय टोली गठन गर्न,सामुदायिक विद्यालयलाई अंग्रजी माध्यममा पठनपाठन गर्न प्रोत्साहन गर्न,किसानहरूलाई विभिन्न किसिमको सहुलियत उपलब्ध गराउने, विद्युतिय मिटर, कृषी औजार, विद्यतिय सिंचाई लगायत कृषी उपज तथा पशु हाटबजार ब्यबस्थापन गर्न, अधुरा विकास निर्माण पुरा गर्ने कार्यलाई पहिलो प्राथमिकता दिन, विकास निर्माणमा छिमेकी स्थानीय तह, प्रदेश सरकार, संघीय सरकारसंग सिझेदारी गर्न,संचारमाध्यमलाई प्रोत्साहित गर्नलगायत सुझावहरु दिएका थिए ।
भोक्राहा नरसिंह गाउँपालीकाका अध्यक्ष अजमल अख्तर आजादले हरेक सुझावलाई गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्दै प्रतिबद्धता जनाउँदै आगामी दिनमा समेत सबै सरोकारवालाको साथ, सहयोग, समन्वय र सहकार्य गरेर भोक्राहा नरसिंह गाउँपालिकाको समग्र क्षेत्रको विकास गर्न चाहेको बताएका छन् । कार्यक्रमको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले प्राप्त सुझावहरू उपर गाउँपालिकाले मनन गर्ने तथा गाॅउपालिकाको समृद्धिकालागि पालिकाका कर्मचारीहरू विदाको दिन, कार्यालय समय अघिपछि पनि दत्तचित भएर कटिबद्ध भएर खटिरहेकोले सबै पदाधिकारीहरू र सरोकारवालाहरूले साकारात्मक ढंगले साथ, सहयोग, समन्वय, सहजिकरण गर्न आग्रह गरे ।








