भोक्राहा । भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रका किसानलाई अनुदानको कृषि सामाग्री वितरण गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ का लागि बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र अन्तर्गतको मकै उत्पादन प्रवर्द्धन कार्यक्रम अन्तर्गत उनीहरूलाई सो सामाग्री शुक्रबार वितरण गरिएको हो ।

भोक्राहा नरसिंह गाउँपालीकाका बाट ५० प्रतिशत अनुदान कार्यक्रममा छनौट भएका श्री मिथिला कृषि सहकारी संस्था भोक्राहा नरसिंह ७ र श्री माधुरी कृषी सहकारी संस्था लि. भोक्राहा नरसिंह ३ मा आवद्ध भएका सदस्य किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषी सामाग्री वितरण गरिएको गाउँपालीकाको कार्यालयले जनाएको छ । कार्यक्रममा कृषकहरुलाई हाते टयाक्टर, थ्रेसर, कोदालो, औषधी छर्ने एस्प्रेमेसीन लगायतका सामग्री भोक्राहा नरसिंह गाउँपालीकाका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिताकुमारी उराँव, वडा नम्बर २ का वडाध्यक्ष आलम अन्सारी, वडा नम्बर ४ का हारुन अन्सारी, धिरेन्द्रकुमार यादव, वडा नम्बर ६ का सराजुदिन अन्सारी र वौवालाल यादव तथा कर्मचारीहरुले कृषि सामाग्री किसानलाई वितरण गरेका थिए ।
सोही अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष अजादले आफू कृषकहरुको समस्या समाधान गर्नका लागि लागिपरेको बताएका छन् । भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रका अधिकांश जनता कृषिमा अधारित भएको र कृषकलाई निकै समस्या रहेकाले त्यसलाई समाधान गर्नका लागि आफू प्रतिवद्ध रहेको उनको दाबी छ । कृषकले समयमा बिउँ, मल, कृषि उपकरण, नपाउनु लगायतका बिबिध समस्या रहेको उल्लेख गर्दै अध्यक्ष आजादले त्यसलाई सम्बोधन गर्नका लागि गाउँपालिकाको आउने बजेटमा विशेष प्याकेज ल्याउने प्रतिबद्धता जनाए । सरकारी अनुदानहरु वास्तविक कृषक समक्ष प्रत्यक्ष रुपमा नपुग्दा कृषकले सोचे अनुसारको लाभ उठाउन नसकेको बताउदै उनले आगामी दिनमा त्यसलाई असल र वास्तविक कृषक समक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।








