इनरुवा । हरेक वर्ष अविरल वर्षापश्चात् सुनसरी खोलामा बाढी आउँछ। त्यसको सबैभन्दा पीडा भोग्छ, भोक्राहाबासीले । भौगोलिक रूपमा निचो भूभाग त हुँदै हो, राज्यले पनि ‘डुब्छ’ भनेर विचार पुर्याउन सकेको छैन । नियन्त्रणका सरकारी प्रयास या कमजोर छन् या बाढीसरह बगिरहेका छन्। पछिल्लो केही वर्ष यता बर्खामा भोक्राहा क्षेत्रमा देखिने समस्या हो— डुबान र कटान। सुनसरी खोलाको बाढीले तटीय क्षेत्रका दर्जनभन्दा बढी गाउँले डुबानमा पर्दै आएका छन् । सयौँ विगाहा खेत बगर भएका छन्, हुने क्रम जारी छ। हुनेखानेहरू भूमिहीन र सुकुम्बासी बनिरहेका छन् । तर,अहिले पनि उक्त मुद्दा राजनीतिक दलको प्राथमिकतामा परेको छैन। डुबानको समस्या झन् जटिल बन्दै गएको छ स्थानीय पप्पु यादवले भने ।वर्षा सुरु हुने बित्तिकै भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५,६,७ र ८ का जनताको निद्रा हराउँछ। कति बेला बाढी आउने हो र उठिबास हुने हो भन्ने चिन्ताले भोक–तिर्खा बिर्साउँछ। तर,नियन्त्रणका नाममा वर्षेनि करोडौं रुपैयाँ खर्चिने गरे पनि नियन्त्रणका प्रयास प्रभावकारी हुनसकेका छैनन्।
बाढी आएपछिको राहत तथा पुन:स्थापनाको कार्य पनि फितलो हुने भएकाले सर्वसाधारणमाथि वर्षातमा ठूलो बज्रपात हुने गरेको छ। यस वर्ष पनि बाढीका कारण कैयांै बस्ती डुबानमा परेका छन ।धेरै भौतिक सम्पत्ति बाढीको पानीको भेलसंँगै बगेको छ। खाना नपाउँदै छट्पटाइरहेका छन्, बाढी पीडित। स्वास्थ्य उपचार र औषधीको अभावमा घरैपिच्छे बिरामीको ताँती छ। कति गाउँ त बाढीअघि नै अन्यत्र सर्छन्। धेरै विस्थापितहरू अहिले आफन्तको शरणमा छन्। बाढीबाट यतिका क्षति हुँदा पनि यसको नियन्त्रणका लागि प्रभावकारी पहल हुनसकेको छैन । मनसुन सक्रिय भएसँगै मंगलबारदेखि निरन्तर परेको अविरल वर्षाका कारण सुनसरी खोलामा बाढी आउँदा भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५ स्थित सिस्वनी टोलका १५ घर,वडा नम्बर ५ कै टपराका १० घर र वडा नम्बर ७ स्थित रहेको यादव टोल बरगाछीका २० घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी गराएको छ । अविरल वर्षा जारी रहेकोले यो संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।
सरकार स्तरबाट समस्याको समाधान हुन नसकेपछि स्थानीय प्रशासनले बाढीविरुद्ध जुध्न विपद पूर्वतयारी तथा प्रतिकार्य योजना अगाडि ल्याउँछ। पूर्वाधारहरू (सडक, पुल, विद्युत, सञ्चार) नष्ट भई अवस्था भयानक हुनसक्ने भन्दै खोज तथा उद्धार, अस्थायी आवास तथा गैरखाद्य सामग्री व्यवस्थापन, खाद्यान्न व्यवस्थापनको तयारी गरेको छ। बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि अस्थायी बास, खाद्य भण्डार लगायत तयारी गरिसकेको छ। ‘वर्षा सुरु भएपछि बाढीसंँग जुध्न विभिन्न समिति बनाई कार्यान्वयनका लागि सम्बन्धित निकायलाई जिम्मेवारी दिइसकेका छौँ। आवश्यक गर्नुपर्ने सबैजसो तयारी गरिसकेका छौँ,’ जिल्ला प्रशासन कार्यालय, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘खोज तथा उद्धारका लागि सुरक्षा निकाय, अस्थायी आवासका लागि रेडक्रस लगायतका संस्थाको जिम्मा लगाएका छौँ।’ सुनसरीमा हुँदै आएको डुबान, कटानको स्थायी समाधानका लागि नदीको दुबैतर्फ पक्की तटबन्धको विकल्प छैन। तर त्यसका लागि करोडौं बजेट आवश्यक पर्छ। बाढीले हरेक वर्ष स्थानीय बासिन्दा विस्थापित हुने क्रम जारी छ। पुन:स्थापना भने जटिल बन्दै गएको छ। एकवर्षअघि विस्थापित बाढी पीडितको अझै पुन:स्थापना हुनसकेको छैन।
नदी बस्तीमा पस्नुको अर्को कारण हो, बर्सेनि नदी नियन्त्रणका नाममा हुने कामहरू प्रभावकारी रूपमा हुन नसक्नु। नदी नियन्त्रणका नाममा आउने रकम उपभोक्ता समितिका नाममा भ्रष्टाचार हुने गरेको, ठेक्का लगाइने योजनाहरूमा समयमा गुणस्तरीय काम हुन नसक्दा समस्या ज्युँकात्युँ रहने गरेको छ। एक स्थानमा एउटै नदीले पटक—पटक कटान र डुबानमा पार्ने गरेपछि वर्षेनि नियन्त्रणका लागि रकम खर्च हुने र नियन्त्रण हुन नसक्ने परिपाटी कायम रहनुले नियन्त्रणका कार्य प्रभावकारी हुन नसकी बस्ती डुबानमा पर्ने गरेको छ। नियन्त्रणमा सरकारी स्तरबाट त लापरबाही छ नै, स्थानीय स्तरबाट पनि कतैकतै असहयोगका कारण समयमा काम सम्पन्न हुन नसक्ने स्थिति सिर्जना हुने गरेको छ। नदीले बाटो बनाएको जग्गा सर्वसाधारणको नम्बरीमा पर्ने र त्यसमा बाँध बनाउँदा जग्गावालाले रोक्ने लगायत कारण पनि नियन्त्रणमा समस्या हुने गरेको प्राविधिकहरूको तर्क छ।सरकारी स्तरबाट क्षतिपूर्तिको व्यवस्था नहुँदा काम गर्न झन् समस्या हुने गरेको छ।
यसैबीच लगातारको बर्षाले डुबानमा परेको भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रमा बाढी प्रभावित नागरिकको उद्धार गर्न जनप्रतिनिधिले सक्रियता देखाएका छन् । र्यापिड रेस्पोन्स टिम र अत्यावश्यक औषधिसहितको क्युक रेस्पोन्स टिम लिएर अध्यक्ष अजमल अख्तर आजाद आफै उद्धारमा खटिन थालेका छन् । डुबान तथा कटानबाट समस्यामा परेको भए तत्काल इमेर्जेन्सी नम्बरमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग सहकार्य गर्दै गाउँपालीकास्तरीय विपद व्यवस्थापन टीमको नेतृत्व गर्दै आफैं डुबान र कटान रोकथाम गर्दै विस्थापित घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्न तथा उनीहरूलाई आवश्यक राहत उपलब्ध गराउन खटेको अध्यक्ष आजादको भनाइ छ । पानी पर्ने यथावत रहेकोले इनरुवा नगरपालिका,भोक्राहा नरसिंह र कोसी गाउँपालीकाका क्षेत्रमा बिद्यालय तीनदिन सम्मको लागि बन्द गरिएका छन् ।
जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी
इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला...