आरिफ अन्सारी
भोक्राहा । भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालयले प्रवक्तामा हारुन अन्सारीलाई नियुक्त गरेको छ । भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ४ का अध्यक्ष समेत रहेका उनी मंगलबार गाउँपालीकाको प्रवक्तामा नियुक्त भएका हुन् । भोक्राहा नरसिंह गाउँपालीकाको प्रवक्तामा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै गाउँपालीकाका अध्यक्ष अजमल अख्तर आजादले इमानदारीपूर्वक कर्तव्य निर्वाह गर्न निर्देशन समेत दिएका छन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मतदाताले आफूहरूलाई विश्वास गरेर निर्वाचित गराएको हुँदा गाउँपालीकामा भए गरेका गतिविधिहरुको बारेमा स्वच्छ,निष्पक्ष र पारदर्शी तरिकाबाट सर्वसाधारण जनतामा जानकारी गराउन नवनियुक्त प्रवक्ता अन्सारीलाई गाउँपालीका अध्यक्ष आजादले निर्देशन दिए । उक्त अवसरमा भोक्राहा नरसिंह गाउँपालीकाकी उपाध्यक्ष सुनिताकुमारी उराँव,प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता,वडा नम्बर १ अध्यक्ष लक्ष्मण मेहता,वडा नम्बर २ अध्यक्ष आलम अन्सारी,वडा नम्बर ३ का अध्यक्ष,वडा नम्बर ५ का अध्यक्ष हबिब मन्सुरी,वडा नम्बर ६ का अध्यक्ष सराजुद्दिन अन्सारी लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।









