इनरुवा । भोक्राहा नरसिंह गाउँपालीकाका निर्वाचित नयाँ जनप्रतिनिधि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै सुधारका लागि सक्रियता देखाएका छन्। भौतिक पूर्वाधार निर्माणका साथसाथै उनीहरुले सामाजिक क्षेत्रको विकासमा प्राथमिकता दिएका हुन्। भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि थालेको बताए । ‘यहाँका विद्यार्थी गुणस्तरीय शिक्षा अध्ययनका लागि इनरुवा या बिराटनगर जानुपर्ने बाध्यता छ। यही किन वातावरण भएन भन्ने प्रश्न उठेको छ’, उनी भन्छन्,‘अब हामीले कम्तीमा यही पढ्ने वातावरण बनाउन के गर्ने भन्नेबारे छलफल गर्दैछु।’

अध्यक्ष आजादले हरेक क्षेत्र सुधारका लागि समयको महत्व आवश्यक रहेको जनाउँदै आफूले हरेक काम समयमै गर्ने बताए । ‘शिक्षा सुधारका लागि समय व्यवस्थापन पहिलो प्राथमिकता हो। हरेक शिक्षकले हरेक पटक कक्षामा पाँच-पाँच मिनेट समय ढिलो गरेमा हरेक विद्यार्थीको हिसाब गर्दा कति समय खर्च हुन्छ आफैँ हिसाब गरौँ न, हामीले कति समय बर्बाद गरिरहेका छौँ। मैले यस्तै सानासाना कुरामा सुधार ल्याउने कोसिस गरिरहेको छु ।’ उनी निजी विद्यालय हेर्दा सामुदायिक विद्यालय भौतिक पूर्वाधार सम्पन्न,दक्ष,तालिम प्राप्त शिक्षक भएर पनि नतिजा दयालाग्दो आउनुको कारण के हो? भन्ने कुरामा समेत बहस थालिने बताउँछन् । अध्यक्ष आजादले स्वास्थ्य सेवा लिन पनि गाउँवासी बाहिर दौडनुपर्ने अवस्थाबाट केही राहत दिन स्वास्थ्य संस्थाको स्तरोन्नति गरिने कुरामा लगानी गर्ने बताए । शिक्षा क्षेत्र सुधारमा सक्रियताका साथ लागिपरेको बताउदै उनले भने ‘सही शिक्षा नपाएमा बालबालिकाको भविष्य बर्बाद हुने भएकाले शिक्षामा कुनै खालको कञ्जुस्याईँ गर्दैनौँ’, अध्यक्ष आजादले भने, ‘ शिक्षा आर्जन गर्न बालबालिका टाढा जानुपर्ने, स्वास्थ्य सेवा लिन रातारात अन्य पालिका वा अन्य जिल्ला दौडनुपर्ने अवस्था अन्त्यका लागि पहल गर्छु।’

यसैबीच भोक्राहा नरसिंह गाउँपालिकामा शैक्षिक सुधारको लागि प्रस्ताव गरिएको कार्यदिशा स्विकृत भएको छ । भोक्रहा नरसिंह गाउँपालिकाको शैक्षिक क्षेत्र सुधारको लागि प्रस्ताव गरिएको कार्यदिशा असार २८ गते मंगलबार बसेको दोश्रो गाउँसभाको १३ औं बैठकबाट स्विकृत भएको हो । उक्त स्वीकृत कार्यदिशा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद,उपाध्यक्ष सुनिताकुमारी उराँव र प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले हस्ताक्षर गरेका छन् ।
स्विकृत बुंदाहरु यस्ता छन्
–उच्च स्तरीय शैक्षिक सुधार अध्ययन कार्यदल गठन गरि प्रत्येक शैक्षिक संस्थाहरुमा अनुगमन,निरिक्षण,कार्यशाला गरि सुझाव सहितको प्रतिवेदन पेश गर्ने ।
–प्रतिवेदन अनुसार उल्लेख शैक्षिक संस्थाहरुको शैक्षिक सुधार योजना बनाउँने ।
–प्रत्येक वडाले एक÷एक वटा विद्यालय छनोट गर्ने ।
–अध्ययन प्रतिवेदको आधारमा शैक्षिक सुधार कार्यक्रम मार्फत वडाले छनोट भएको विद्यालय को भौतिक संरचना ,शिक्षक दरबन्दी ,विद्यार्थी प्रोत्साहन÷आर्कषण्को कार्यक्रम ल्याई शैक्षिक अवस्थाको सुधार गर्ने ।
–छनोट भउको एक एक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने ।
–उत्कृष्ट विद्यालयमा वि.व्या.स.प्र.अ शिक्षकलाई पुरस्कृत गर्ने।
–शैक्षिक अवस्था कम्जोर रहेको विद्यालयका शिक्षकहरुलाई अन्य विद्यालयमा स्थानान्तरण गरि क्षमता विकाश गर्ने ।
–विद्यार्थी कम भएको विद्यालयहरु म्र्ज गर्ने।
–दरबन्दी मिलान गर्ने ।
–नयाँ विद्यालय स्थापनाका लागि विद्यालय नक्सांकन सम्बन्धी कार्य गर्नेलगायतका बुंदाहरु गाउँपालिकाको दोश्रो गाउँसभाको १३ औं बैठकबाट स्विकृत भएको हो ।

अध्यक्ष अजादले पालिकाभित्र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि स्वीकृत कार्यदिशा महत्त्वपूर्ण सावित हुने बताए ।
पालिकाभित्र रहेका बिद्यालयहरुमा विद्यार्थीको संख्या कम भएको अवस्थामा त्यस्ता बिद्यालयहरुलाई मर्ज गर्ने निति बनाइएको बताउदै उनले गरिएको निर्णय कार्यान्वयन गर्न भावी दिनमा अनुगमन र निरिक्षण कार्यलाई तीव्रता दिइने बताए ।








