इनरुवा । सुनसरी प्रहरीले आफ्नो उपलब्धि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले एसपी संजयसिंह थापाको नेतृत्वमा भएका उपलब्धिहरु मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । विभिन्न अपराधमा संलग्न भएर लामो समयदेखि फरार रहेका प्रतिवादी पक्राउमा सुनसरी प्रहरी अग्रस्थानमा रहन सफल भएको छ । अदालतको फैसला कार्यान्वयनका लागि १४ जिल्ला रहेको प्रदेश १ मा फरार अपराधी पक्राउ विशेष अभियान सञ्चालन गरिएको थियो । पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार सबैभन्दा धेरै फरार प्रतिवादीलाई पक्राउ गर्न सुनसरी प्रहरी सफल भएको हो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन शाखाको अभिलेख अनुसार मुलुकका ७७ वटै जिल्लामध्ये सुनसरीबाट धेरै प्रतिवादी पक्राउ परेका छन् ।

प्रदेश १ बाट आर्थिक वर्ष २०७८/०७९ मा एक हजार सात सय ३८ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये एक हजार जना फौजदारी र सात सय ३८ जना देवानी मुद्दाका फरार छन् । अदालतले दोषी ठहर गरे पनि कैद तथा जरिवाना भुक्तान नगरिकन भागिरहेकाहरु पक्राउ परेका हुन् । कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, लागुऔषध, जबरजस्ती करणी, डाँका, ज्यान मार्ने उद्योग, करणी उद्योगजस्ता जघन्य तथा अन्य प्रकृतिका अपराधमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । ठूलो सङ्ख्यामा प्रतिवादी पक्राउ पर्दा नौ सय ६६ वर्ष चार महिना एक सय ५४ दिन कैद र आठ करोड सात लाख ४७ लाख छ सय ७५ रूपैयाँ जरिवाना असुल भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उनका अनुसार विगतभन्दा आर्थिक वर्ष २०७८/०७९ मा धेरै अपराधी पक्राउ परेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशभरिबाट नौ सय ७० र २०७७/०७८ मा सात सय ४३ जना फरार प्रतिवादी पक्राउ परेका थिए । प्रहरीले २०७८/०७९ मा विगतको वर्षभन्दा दोब्बर बढी फरार पक्राउ गरेको राईले बताए । एक वर्षको अवधिमा प्रदेशभरिबाट पक्राउ परेकामध्ये लगभग आधा प्रतिवादी सुनसरी प्रहरीले पक्राउ गरेको हो । सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार आठ सय ६५ जनालाई पक्राउ गरिएको छ । थापाले प्रतिवादी पक्राउ पर्दा दुई सय दुई वर्ष तीनमहिना एक दिन कैद र एक करोड ५३ लाख दुईहजार एक सय एक रूपैयाँ जरिवाना असुल भएको जानकारी दिए । जसअन्तर्गत विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार ८६५ जना प्रतिवादी पक्राउ गर्नुका साथै भारतसँग खुल्ला सीमा नाकाको कारण चोरीतस्करी, लागूऔषध,हातहतियार,गाँजा कारोबार नियन्त्रण गर्दै राजस्व चुहावट रोक्नु आफ्नो प्रमुख उपलब्धि भएको एसपी थापाको दाबी छ । सुनसरी प्रहरीले फौजदारी मुद्दाका १७८ र देवानी मुद्दाका ६८७ सहित ६६३ जना पुरुष र २०२ जना महिलालाई पक्राउ गरेको जनाएको छ । यस्तै विभिन्न चुनौतीका बाबजुद गत वैशाख ३१ गते बिना कुनै अप्रिय घटना जिल्लामा शान्तिपूर्ण तवरबाट स्थानीय तह निर्वाचन सम्पन्न गर्नुलाई समेत उनले आफ्नो उपलब्धि भएको बताए ।जघन्यदेखि विभिन्न खाले अपराधमा अदालतले दोषी ठहर गरे पनि कैद तथा जरिवाना भुक्तान नगरिकन अढाई दशकदेखि फरार बनेकालाई प्रहरी सक्रियता बढाएर पक्राउ गरिएको उनले बताए । अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखेर फरार प्रतिवादी पक्राउलाई तीव्र पारिएको थापा बताउँछन् । फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखेर फरार पक्राउमा उल्लेख्य सफलता प्राप्त गरेको सुनसरी प्रहरीलाई अदालतले सम्मानसमेत गरिसकेको छ । सुनसरी अदालतद्धारा २०७८ चैत ७ गते आयोजित न्यायिक कामकारबाहीका सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा न्यायाधीश कैलाशप्रसाद सुवेदीले एसपी थापालाई सम्मान पत्र प्रदान गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न समयमा लागूऔषध कारोबारी तथा लागूऔषध बोक्ने भरियाबाट बरामद गरेका लागूऔषध डाईलेक्स, डाईजेल्याब,फेनारगन, नोफिन,लुपिजेसिक , स्पास्मोप्रोक्सिभन, खेरौहिरोईन, गाँजालगायत समेत ठुलो मात्रामा बरामद गरी नष्ट गरेको सुनसरी प्रहरीले जनाएको छ । यस्तै सुनसरी प्रहरीले २०७८ असार १६ गतेदेखि २०७९ साउन १६ गतेको अवधिमा कर्तव्य ज्यान मुद्दा अन्तर्गत २० जनालाई पक्राउ गरेको छ भने ज्यान मुद्दा उद्योगमा ८४ जना, करणी सम्बन्धि कसुरमा १२२ जना, लागूऔषध मुद्दामा १९१ जना, मानव अपहरण तथा शरीर बन्धक मुद्दामा आठजना, हातहतियार मुद्दामा १९ जना, ठगी मुद्दामा ४० जना,नागरिकता सम्बन्धि कसुरमा तीनजनासहितलाई पक्राउ गरिएको जनाएको छ । यस्तै सुनसरी प्रहरीले हातहतियारको १२ वटा मुद्दामा १९ जनालाई पक्राउ गर्नुका साथै छ वटा कटुवा पेस्तोल,तीनवटा पेस्तोल, तीनवटा भरुवा,दुईवटा इटालियन पेस्तोल,१३ राउन्ड गोली समेत बरामद गरेको छ ।

प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ मा सुनसरीपछि मोरङबाट धेरै प्रतिवादी पक्राउ परेका छन् । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार एक वर्षमा दुई सय ८९ जनालाई पक्राउ गर्दा दुई सय ४१ वर्ष एक महिना २७ दिन कैद र एक करोड ३३ लाख १२ हजार छ सय ६१ रूपैयाँ जरिवाना असुल भएको छ । अपराधमा संलग्न भएर वर्षौदेखि भागिरहेकालाई पक्राउ गर्न विशेष टोली परिचालित रहेको एसपी कोइरालाले बताए । प्रदेशका अन्य जिल्लामध्ये झापाबाट दुई सय २४, पाँचथरबाट ७८, उदयपुरबाट ५७, सङ्खुवासभाबाट ४०, तेह्रथुम, इलाम र ताप्लेजुङबाट २३/२३, धनकुटा र सोलुखुम्बुबाट १७/१७, भोजपुरबाट आठ, ओखलढुङ्गाबाट छ र खोटाङबाट तीन जना फरार अपराधी पक्राउ परेका छन् ।










