इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीका नयाँ एसपी प्रभुप्रसाद ढकालले सीमाबाट हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने प्रतिबद्धता गरेका छन् । सुनसरी प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि मंगलबार पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उनले खुला सीमानाकाबाट हुने चोरी तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने प्रतिबद्धता गरेका छन् उनले अपराधको वर्गिकरण गरेर त्यसैअनुसार योजना बनाउने र त्यसलाई निरुत्साहित पारिने पनि प्रतिबद्धता व्यक्त गरे । सुनसरी जिल्ला लागुऔषध कारोवार र प्रयोग दुवैको ट्रान्जिट प्वाइन्ट भएको भन्दै उनले त्यसको नियन्त्रणमा कुनै कसुर बाँकी नराखिने बताए । काज सरुवा अनुसार सुनसरी आएका एसपी ढकाल यसअघि गृह मन्त्रालयको प्रहरी प्रशासनमा कार्यरत थिए । सुनसरीका सञ्जयसिंह थापा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा सरुवा भएका छन् ।
कार्यभार सम्हाल्न आएपछि जिल्लाका पत्रकारहरुसँगको भेटघाट कार्यक्रम बोल्दै एसपी ढकालले चोरीपैठारी नियन्त्रण गर्न आफू कडा रूपमा प्रस्तुत हुने बताउदै तस्कारसँग मिल्ने जुनसुकै तहमा रहेका प्रहरी अधिकारीहरूलाई कारवाहीको दायरमा ल्याउने बताए । खुल्ला सीमाको फाइदा उठाउँदै तस्करीसँग मिल्ने प्रहरीहरूलाई तत्काल कारवाहीको दायरामा ल्याई चोरी तस्करी नियन्त्रण गर्ने मामिलामा कसैसँग सम्झौता नगर्ने उनले दाबी गरे । आफ्नो कार्ययोजना संचारकर्मीहरु समक्ष सुनाउदै एसपी ढकालले भने ‘सुनसरी भारतसँग सीमा जोडिने जिल्ला हो । बोर्डर जोडिएको जिल्लामा तस्करी हुने गरेको जनगुनासो आउने गरेको छ,’ उनले भने, ‘मेरो क्षमताले भ्याएसम्म पूर्ण रूपमा तस्करी नियन्त्रणमा लागि पर्नेछु ।’









