इनरुवा । सुनसरीमा १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरी फरार रहेका आरोपितलाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी राजकुमार राईका अनुसार २०६१ मंसिर २३ गते रातको समयमा इनरुवा २ मा १४ वर्षीया बालिकालाई सुरज बिकसहितको समूहले आफ्नै घरमा सामूहिक बलात्कार गरेको थियो ।
प्रहरीका अनुसार ४।५ जनाको समूहले बालिकालाई बलात्कार गरेपनि बिक फरार रहँदै आएका थिए ।घरमा सुतेको अवस्थामा पीडित बालिकाका बुबा–आमालाई हात खुट्टा तथा मुखमा पट्टी बाँधेर बालिकालाई सामूहिक बलात्कार गरी अचेत अवस्थामा छाडेर फरार भएको खुलेको डीएसपी राईले बताए । उनका अुनसार सर्वोच्च अदालतबाट प्रतिवादी सुरज विश्वकर्माको ९ वर्ष ५ महिना १९ दिन कैद भुक्तान तोकेको थियो । कैद भुक्तान गर्न बाँकी रहेकालाई खोजतलास गर्ने क्रममा विश्वकर्मालाई २०७९ भदौ ५ गते बराहक्षेत्र नगरपालिका वडा नं. ५ भरौलबाट पक्राउ गरिएको हो ।फरार प्रतिवादीलाई कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आर्थिक वर्ष २०७९।८० मा ६७ जना फरार प्रतिवादीलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ ।








