इनरुवा । १४ औं अन्तर्राष्ट्रिय गिद्ध दिवसको अवसरमा कोसी टप्पुमा सचेतना कार्यक्रम आयोजना गरिएको छ । कोसी टप्पु लर्निङ्ग ग्राउन्डको आयोजनामा शनिबार १४ औं अन्तर्राष्ट्रिय गिद्ध दिवसको अवसरमा सचेतना कार्यक्रम आयोजना गरिएको हो । कोसी टप्पु लर्निङ्ग ग्राउन्डका अध्यक्ष राजकुमार सिंहको अध्यक्षता आयोजना भएको सो कार्यक्रमका सहभागीहरुले गिद्ध संरक्षणमा जुट्नुपर्नेमा जोड दिएका छन् ।सुनसरी जिल्लाको विभिन्न नदि किनारमा देखिने गिद्ध पछिल्ला दिनहरुमा हराउँदै गएको हुँदा गिद्ध संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् । प्रत्येक वर्ष सेप्टेम्बर महीनाको पहिलो शनिबार तथा त्यस सप्ताहभर मनाइने अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउने कार्यक्रमहरुको आयोजना गरी विश्वभर मनाउने गरिन्छ ।
सन् २००५ देखि दक्षिण अफ्रिकामा मनाइँदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवस सन् २००९ बाट अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो ।नेपालमा पनि सचेतनामूलक र्याली, क्याम्पस तथा विद्यालयस्तरीय संरक्षण शिक्षामूलक प्रतियोगिताहरु, गिद्ध तस्वीर तथा चित्रकला प्रर्दशनी, गिद्ध महोत्सव, सडक नाटक, स्थानीय सरकार र सरोकारवाला निकायसँग अन्तरक्रिया तथा रेडियो कार्यक्रम गरी साताव्यापीरुपमा मनाइने गरिएको गिद्ध संरक्षणका अभियन्ता समेत रहेका राजकुमार सिंहले जानकारी दिए । गिद्ध संरक्षणका लागि पशु उपचारमा प्रयोग हुने औषधि डाइक्लोफेनेक आदि विषादीको प्रयोग शून्य बनाउनुपर्ने, बासस्थान संरक्षण गरिनुपर्ने तथा आहारा सुरक्षा र उपलब्धतामा जोड दिनुपर्नेमा संरक्षणकर्मी सिंहले जोड दिए ।सो कार्यक्रममा कोसी टप्पु वन्यजन्तु आरक्षका प्रमुख रमेशकुमार यादव,एनटीएनसीका शरदचन्द्र अधिकारी,दुर्गा दल गुल्मका गुल्मपति गिरिराज गौतम,विनयकुमार मिश्र, एनटीएनसीका वीरेन्द्र गौतम,अल्फेद अन्सारी,रामगुलाम चौधरीलगायतको उपस्थिति रहेको थियो ।