देवराज यादव
भण्टाबारी । नेपाल भारतको दसगजा क्षेत्रमा एकजना नेपाली युवक मृत अवस्थामा भेटिएको छ । सीमावर्ती क्षेत्रको भारतीय भूमिको धान खेतमा एकजना नेपाली युवा मृत अवस्थामा भेटिएको स्थानीय प्रहरीले जनाएको छ ।भण्टाबारी नाकाहुँदै सुनसरी,सप्तरी र उदयपुर जिल्लाका दर्जनौं युवावर्ग दिनहुँ भारतीय बजारमा लागूऔषध सेवन गर्न जाने गरेका छन् । यद्यपि सीमामा तैनाथ सुरक्षाकर्मीले लागूऔषध कारोबारीलाई बेलाबखत नियन्त्रणमा लिने गरेपनि लागूऔषध सेवनकर्ता सहजै आवतजावत गर्दै आएका देखिन्छन् ।
मृत्यु हुनेमा उदयपुर जिल्लाको चौदण्डी नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ३० वर्षका सुमन भन्ने मिलन कटुवाल रहेकोे ईलाका प्रहरी कार्यालय भण्टाबारीले जनाएको छ । आइतबार दिउँसो मृत भेटिएका कटुवालको पोस्टमार्टम लगायत आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै शव बुझाउने बुझिएको छ । कटुवालको मृत्युको कारण खुल्न नसकेपनि अत्यधिक लागूऔषध सेवन गरेका कारण उनको मृत्यु भएको हुनसक्ने स्थानीय प्रत्यक्षदर्शीको भनाइ रहेको छ ।