मिकाइल आलम
इनरुवा । केही महिना अगाडि सम्म रोकिएको तस्करी सुनसरीको विभिन्न सीमा नाका हुँदै पुनः बढेको सूचना प्राप्त भएको छ । नेपाल भारत सीमामा हुने तस्करी र अपराधका घटना नियन्त्रण गर्न गृहमन्त्रालय बाटै निर्देशन सहित सुरक्षाकर्मीलाई परिणाम देखिने गरी काम गर्न भनेपछि सीमावर्ती क्षेत्रमा कडाइ गरिएको थियो । जसका कारण घरायसी प्रयोजनका लागि सर्वसाधारणलाई पनि आवश्यकता भन्दा बढी सामान ल्याउन बन्देज लगाइएको थियो ।
तर, खासगरी सशस्त्र प्रहरीको डिआइजी र नेपाल प्रहरीको जिल्ला प्रमुख फेरिएपछि सुनसरी सहितका जिल्लाहरुमा सेटिङ्गमा हुदैँ आएको भनिएको तस्करी पुन: बढेको श्रोतको भनाई छ । भारतसँग सीमा जोडिएको सुनसरीका विभिन्न नाका हुँदै अवैध तवरबाट भारतीय बजारबाट विभिन्न सामानको तस्करी हुने क्रम बढेको पाइएको छ । चोरीपैठारी नियन्त्रण गरी राजस्व वृद्धि तथा शान्तिसुरक्षा मजबुत बनाउन लौकही, श्रीपुर, भण्टाबारी, कप्तानगंज,साहेबगंज, लाही,उल्टी,घुस्कीलगायतका नाकामा परिचालित सुरक्षाकर्मीको मिलेमतोमा तस्करी हुने गरेको गुनासो आएको हो । खुला सीमाको फाइदा उठाउदै तस्करहरुले सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको संरक्षणमा तस्करी गर्ने गिरोह सक्रिय रहेको स्थानीय बताउँछन् ।
सीमा सुरक्षामा खटिएका सुरक्षा प्रमुखहरुले अवैधानिक रूपमा दैनिक लाखौंको भन्सार छल्ने तस्करहरुसँग असुली गर्न सादा पोसाकमा प्रहरी खटाउने गरेको स्थानीय अजमत मियाँले आरोप लगाए । सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न सीमामा सुरक्षाकर्मी परिचालन गरिएपनि ठिकबिपरित कार्यका लागि सीमामा तैनाथ सुरक्षा प्रमुखहरुले सादा पोसाकका प्रहरी खटाएका छन् उनले आरोप लगाउदै भने । दैनिक लाखौंको तस्करी गर्ने तस्करहरुलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रश्रय दिने गरेपनि सर्वसाधारणले आफ्नो जीविकोपार्जनको लागि भारतबाट सानो परिणाम सामान खरिद गरी ल्याउदा नियन्त्रणमा लिई दुख दिने गरेको अर्का स्थानीयले गुनासो गरे ।
मासिक रूपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले मोटो रकम तस्करहरुबाट लिएर तस्कर गराउदै आएको आरोप लगाउदै नाम उल्लेख नगर्ने शर्तमा एकजना व्यापारीले भने ठुला तस्करहरुसँग मिलेर सुरक्षाकर्मीले तस्करी गराउने र जीविका चलाउन ल्याउने गरिबको समान पक्रेर दुख दिने काम भएको छ । महिनावारि दिए भने अवस्था सामान्य दिएन भने त्यसको भोलिपल्ट सामान पक्राउ गरी भन्सार बुझाउने कार्य महिनाको एकदेखि तीनपटक मातहतका अधिकृतबाट प्रशंसा पाउने सडयंत्र सीमावर्ती क्षेत्रका इन्चार्जहरुले गरिरहेका छन् । खासगरी सुनसरी जिल्लाको दक्षिणवर्ती सीमा नाका भई हुदैँ आएको नेपालमा प्रतिबन्धित बोइलर कुखुरा, मुंग्री लगायत जलकपुर, आरसी माछा, चीनी तथा सुर्तीजन्य पदार्थ, किराना सामानहरु, कपडा तथा तयारी पोसाक, बाख्रा-खसी, गाई-गोरु लगायत कुन कुन नाकाबाट कुन सामानहरुको कसरी तस्करी गराईन्छ भन्ने बारे अर्को अंकमा विस्तृत जानकारी गराउनेछौं ।