जुगेश दास
देवानगञ्ज । भारतबाट आयात गरिएका सस्ता तरकारीले स्थानीय किसानहरूलाई ठुलो आर्थिक चुनौती थपिएको छ। देवानगञ्ज बजारमा भारतबाट भित्रिने तरकारीको मात्रा बढेसँगै यहाँका किसानहरूले उत्पादन गरेको तरकारीको मूल्यमा तीव्र गिरावट आएको छ।
भारतबाट सस्तो मूल्यमा आलु, प्याज, टमाटर, काउलु , भण्टा र सागपातजस्ता तरकारी बजारमा भित्रिएपछि स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्न सकेको छैन। किसानहरूले लगानी गरेर उत्पादन गरेका तरकारीको उचित मूल्य पाउन सकेका छैनन्, जसले गर्दा उनीहरूको आम्दानीमा ठूलो असर परेको छ।
स्थानीय किसान रामलुटन मेहताले भने, “हामीले महीनौं मिहिनेत गरेर तरकारी उत्पादन गर्छौं। तर, भारतबाट आउने सस्तो तरकारीले गर्दा हाम्रो उत्पादनको कुनै मोल छैन। खर्च पनि उठ्न गाह्रो भइरहेको छ।”
त्यस्तै, किसान सुवाेध मेहताले बजारमा मागभन्दा आपूर्ति धेरै भएको बताइन्। “आफ्नै उत्पादन बिक्री हुन गाह्रो हुँदा हामीलाई घाटा लागिरहेको छ। यो समस्यालाई सरकारले गम्भीर रूपमा लिनुपर्छ,” उहाँले बताउनुभयाे।
तर, व्यापारी र उपभोक्ता भने सस्तो आयातित तरकारीले आफ्नो खर्चमा राहत दिएको बताउँछन्। एक स्थानीय व्यापारीले भने, “भारतबाट आउने तरकारी सस्तो र धेरै मात्रामा उपलब्ध भएकाले ग्राहकहरू यसैलाई रोज्छन्। तर, यसले स्थानीय किसानलाई असर गरेको बुझ्छु।”
किसानहरूले भारतबाट आउने तरकारीमा कडाइका साथ नियमन गर्न र स्थानीय उत्पादनलाई प्रोत्साहन दिन सरकारसँग आग्रह गरेका छन्। स्थानीय सरकार र कृषि मन्त्रालयले आयातमा नियन्त्रण गर्दै किसानलाई अनुदान र समर्थन दिन आवश्यक रहेको किसानहरूको माग । यदि समयमा नै यो समस्याको समाधान गरिएन भने, देवानगञ्ज क्षेत्रका किसानहरूले कृषि व्यवसायलाई नै छोड्न बाध्य हुने अवस्था सिर्जना हुन सक्ने सम्भावना छ।