मिकाइल आलम
इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ नेपाली राजनीतिको उर्वरभूमि मानिन्छ । यहीँ क्षेत्रबाट पाँच पटकसम्म देशको प्रधानमन्त्री बनेका नेपाली राजनीतिका शीर्षपुरुष गिरिजाप्रसाद कोइराला लगातार तीनपटक निर्वाचित भए । स्वर्गीय कोइराला तत्कालीन क्षेत्र नम्बर ५ र हालको सुनसरी क्षेत्र नम्बर ४ बाट २०४८, ०५१ र ०५६ सालमा चुनाव जितेका थिए । २०५१ सालको उपचुनावमा भने उनी पराजित भएका थिए । २०६३/०६३ को जनआन्दोलनपश्चात् भने गिरिजाले आफ्नो विकल्पमा २०६४ भएको संविधानसभा निर्वाचनमा छोरी सुजाता कोइरालालाई अघि सारेका थिए तर, उनी तत्कालीन मधेसी जनअधिकार फोरमका उपेन्द्र यादवसँग पराजित भइन् । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा समेत यादव नै निर्वाचित भएका थिए । नेपाली काङ्ग्रेसबाट टिकट नपाएपछि विजयकुमार गच्छदारको तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवारी दिएका गफार मियाँ अन्सारीलाई झिनो मतले पछि पार्दै उपेन्द्र यादव लगातार दोस्रोपटक निर्वाचित भएका थिए । गफार अहिले सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने हरिनगर गाउँपालिकाका अध्यक्ष छन् ।

सोही निर्वाचन क्षेत्रमा २०७४ सालमा भोजपुरबाट निर्वाचन क्षेत्र परिवर्तन गरेर लडेका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचन भए । विद्यार्थी जीवन कालदेखि नै सक्रिय राजनीति गर्दै आएका वर्तमान सूचना,सञ्चार तथा प्रविधि मन्त्री कार्की नेपाली राजनीतिमा एक परिचित नाम हो । सरल, सफल, इमानदार, विश्वासी, जनताको दुःखसुखमा साथै रहने र जनताको काममानै रमाउने थोरै नेतामध्ये उनको नाम अग्रस्थानमा लिने गरिन्छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूलाई सरल र सफल तरिकाले प्रस्तुत गर्ने नेता कार्कीको लोभलाग्दो विशेषता हो । विगतदेखि नै केन्द्रीय स्तरमा प्रभावशाली कार्की स्थानीय स्तरमा पनि बलिया बन्दै गएका छन् । स्थानीय स्तरमा योजना ल्याउने देखी कार्यकर्ता भेटघाटलाई प्राथमिकता दिएका उनी हरेक महिना जसो निर्वाचन क्षेत्रको भ्रमणमा आउँछन् । सुनसरी ४ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका उनी त्यसपछि उनले दुई वटा मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकार बन्दा सुरुमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भएका उनी हाल सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको जिम्मेवारीमा छन् । कार्की ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्रालयमा समेत मन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपाका रमेश श्रेष्ठलाई पराजित गर्दै सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका कार्कीको जन्म २०१३ सालमा भोजपुरको साविक देउराली गाविस–४ गैरीगाउँ हाल षडानन्द नगरपालिका–११ मा भएको हो । कृष्णमोहन कार्कीका पाँच भाइ छोरामध्ये ज्ञानेन्द्र जेठा छोरा हुन् । प्रारम्भिक शिक्षा गाउँबाटै लिएका कार्कीले भोजपुर क्याम्पसबाट प्रमाण–पत्र तह अध्ययन गरेका थिए । उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । आरआर क्याम्पसलगायतमा शिक्षणसमेत गरेका कार्की समानुपातिक तर्फबाट सांसद्हुँदै दुई कार्यकाल अर्थमन्त्रीसमेत भइसकेका छन् । विद्यार्थी राजनीतिबाट उदाएका उनी २६ वर्षकै उमेरमा २०३९ सालमा नेविसङ्घको केन्द्रीय सभापति भएका थिए ।

बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईले विश्वास गरेका पात्र हुन् कार्की । विघटित प्रतिनिधिसभा सदस्य तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रहेका उनी कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीकालमा स्वकीय सचिव भएका थिए । २०५६ सालको संसदीय चुनाव र २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भोजपुरबाट चुनाव लडेका कार्की दुवैपटक पराजित भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा भने उनी प्रत्यक्षतर्फ चुनाव उठेनन्, समानुपातिकमा बसे । अर्थमन्त्री हुँदा भोजपुरबाट चुनाव लड्न सुनसरी झरेका कार्की नेकपाका रमेश श्रेष्ठलाई ६ हजार ५ सय ९७ मतले हराउँदै चुनाव जितेका हुन् । सुनसरी क्षेत्र नम्बर ४ मा वराह नगरपालिका–६ देखि ११ वडा, इनरुवा नगरपालिका ३, ४ र ८ रामधुनी नगरपालिका वडानम्बर ४, हरिनगर गाउँपालिकाका १ देखि ७ नम्बर वडा तथा भोक्राहा नरसिंह र कोशी गाउँपालिका पर्छन् । निर्वाचित भएदेखि नियमितरूपमा जनतासमक्ष आउने गरेका नेता कार्कीले दिएका आश्वासन पूरा गर्ने जनताको विश्वास छ । शालीन स्वभावका कार्कीले निर्वाचन क्षेत्रका प्रत्येक वडा–वडामा पुग्दै जनताका समस्या बुझ्दै आएका छन् ।

आफूले वाचा गरेका मात्रै नभई जनताका भावना र आवश्यकताअनुसार कार्य गर्दै आएको र कालान्तरमा समेत गर्दै जाने कार्कीको भनाइ छ । विकासप्रेमी नेताका रूपमा जनतामाझ ज्ञानेन्द्रबहादुर कार्की स्थापित भएका कारण आगामी निर्वाचन पुनः निर्वाचित हुनेमा कोसी गाउँपालीका अध्यक्ष तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारी विश्वस्त छन् । कांग्रेस विभाजनको समयमा प्रजातान्त्रिक कांग्रेसमा लागेका कार्की त्यस बेला देखी नै शेरबहादुर देउवाका विश्वास पात्र भएर काम गरिरहेका छन् ।वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले कहिले नजित्ने वराहक्षेत्र नगरपालिकासहित कोसी, हरिनगर र भोक्राह नरसिंह गाउँपालिकामा कांग्रेसलाई जिताउन उनले अहम् भूमिका खेलेका थिए । उनी जस्ता देश र जनताका लागि केही गरांै भन्ने नेतालाई ठाउँमा पुर्याउन सुनसरी क्षेत्र नम्बर ४ का जनता पुनः कम्मर कसेर उनलाई आगामी मंसिर ४ गते हुन लागेको चुनावमा जिताउन लागेको अध्यक्ष अन्सारी बताउँछन् ।








