इनरुवा । निर्वाचन आयोग आफैले सुनसरी–४ मा हुँदै नभएको ६०६ मत एमाले उम्मेद्वारको भागमा जोडेको प्रमाणित भएको छ । शनिबार दिउँसोदेखि मत गणना रोकिनुको मुख्य कारण नै यही बनेको छ । आइतबार सुनसरी–४ मा पुनः मतगणना गर्न माग गर्दै सञ्चार मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले निवेदन दिएका छन् । शनिबार दिउँसोदेखि रोकिएको मतगणना आइतबार सर्वदलीय बैठक आयोजना गरेर सुरू गर्ने भनिए पनिसर्वदलीय बैठकमा कुनै सहमति जुट्न सकेन । लगत्तै कार्कीले आयोगमा पुनः गणनाको माग गर्दै आयोगमा निवेदन दिएका हुन् । सञ्चारमन्त्री कार्कीका प्रतिनिधि रोशन खड्काले कार्कीका तर्फबाट आयोगमा निवेदन दिएका हुन् ।सुनसरी–४ मा मतगणनाको निर्वाचन परिणाममा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतको मतमा ६०६ मत बढी थपिएपछि विवाद भएको थियो ।
निर्वाचन अधिकृतले आयोगमा पठाएको ६०६ मत आयोगले सार्वजनिक गर्दा १२१२ मत भएपछि कांग्रेसले आपत्ति जनाएको थियो । ‘निर्वाचन आयोगले सार्वजनिक रुपमा ६०६ मत थपिनु हाम्रो गल्ती भयो भन्नुले आयोगको कमजोरी देखिएको छ,’ नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सचिव खड्काले भने, ‘त्यसैले पुनः मतगणना हाम्रो न्यूनमत माग हो ।’ कांग्रेसको मागमा एमालेले भने असहमति प्रकट गरेको छ । थपिएको ६०६ मत घटाएर मत गणना सुचारू गर्नुपर्ने उसको अडान छ । यसरी थप देखिएको ६०६ मतमा आफूले गल्ती गरेको भन्दै आयोगले त्यो मत हटाउने र गणना सुरू गर्ने प्रस्ताव गरेको थियो । तर, कांग्रेसका कार्कीले त्यो प्रस्ताव सोमबार दिउँसोसम्म मानेका छैनन् । ‘सुरूदेखि नै एमाले उम्मेदवारको मतमा यसरी नै मत थपिएको आशंका भयो,’ सर्वदलीय बैठकमा कार्कीले भने, ‘त्यसैले यहाँ मतगणना सुरूदेखि नै हुनुपर्छ ।’ मतगणना रोकिँदासम्म कार्कीले २३ हजार ४३९ र एमालेका कुसियैतले २३ हजार ३४१ मत पाएका छन् ।