मिकाइल आलम
इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट बहालवाला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगातार दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको बिहीबार सम्पन्न अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कार्कीले नेकपा एमालेका जगदीशप्रसाद कुशियैतलाई हराउँदै निर्वाचित भएका हुन । कार्कीले नेकपा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई १ सय १२ मतले पराजित गरेका हुन् । नेपाली कांग्रेसका उम्मेदवार कार्कीले ३० हजार ४सय ८३ मत प्राप्त गर्दै निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार कुसियैतले ३० हजार ३ सय ७१ मत मात्रै प्राप्त गरे । यस्तै सुनसरी क्षेत्र नम्बर ४ क प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सदानन्द मण्डल विजयी भएका छन् ।
यस्तै सुनसरी क्षेत्र नम्बर ४ ख प्रदेशसभा तर्फ भने नेकपा एमालेका उम्मेदवारलाई दुईहजार मतअन्तरले हराउँदै नेपाली कांग्रेसका नेता हाजी डाक्टर इसराइल मन्सुरी निर्वाचित भएका थिए । प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभा तर्फ ८ वटा क्षेत्र रहेको सुनसरीमा यसपटकको निर्वाचन नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधि र दुवै प्रदेशसभा सदस्य पद जितेको छ भने अन्यमा भने नेकपा एमाले र जनता समाजवादी पार्टीले जितेको अवस्था छ । २०७४ सालमा प्रतिनिधिसभा तर्फ ४ वटा क्षेत्रमध्ये ३ वटा क्षेत्र जितेको कांग्रेस यसपटक भने एउटामा सिमित भएको छ । सुनसरी क्षेत्र नम्बर ४ मा जित्दै नेता कार्कीले नेपाली कांग्रेस सुनसरीको साख जोगाएका छन् ।
सुनसरी क्षेत्र ४ मा जम्मा रहेको १ लाख २८ हजार ६५ जना मतदातामध्ये ८१ हजार दुईसय ३३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जसअन्तर्गत कोसी गाउँपालीकाका ८ वटा वडाहरुमा गरी १६ हजार छ सय २८,हरिनगर गाउँपालीकाका ६ वटा वडाहरुमा गरी १४ हजार एकसय २९, भोक्राहा नरसिंह गाउँपालीकाका ८ वटा वडाहरुमा गरी १६ हजार छ सय, बराहक्षेत्र नगरपालिकाका ६ वटा वडाहरुमा गरी २१ हजार नौ सय एक, इनरुवा नगरपालिका वडा नम्बर ३ मा तीनहजार ८७,वडा नम्बर ४ मा दुईहजार चारसय ६२,वडा नम्बर ८ मा तीनहजार चार ६२ र रामधुनी नगरपालिका वडा नम्बर ४ मा दुईहजार ८० गरी जम्मा ८१ हजार दुई ३३ मत खसेको थियो । २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसको तर्फबाट यस निर्वाचन क्षेत्रबाट ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका थिए । सोही निर्वाचन क्षेत्रबाट पुनः उनी उम्मेदवार बन्दै निर्वाचित भएका हुन ।
२०७४ सालमा आफ्नो जन्मस्थल भोजपुर छाडेर सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका वर्तमान सूचना,सञ्चार प्रविधि एवं कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीसँगै सरकारको प्रवक्ता समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई यसपटक भने नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुशियैतले चुनौती दिएका थिए । २०७४ सालमा प्रतिनिधिसभा तर्फ ३२ हजार ३ सय ४७ मत ल्याएर निर्वाचित भएका कार्की यसपटक १ सय १२ मतअन्तरले एमाले उम्मेदवार कुशियैतलाई पराजित गरे । २०७४ सालको निर्वाचनमा कार्कीले ३२ हजार ३ सय ४७ मत प्राप्त गरी निर्वाचित भएकोमा उनका निकटतम प्रतिद्वन्दी तत्कालीन बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रमेश श्रेष्ठले २५ हजार ७ सय ५० मत प्राप्त गरेका थिए ।