इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समिति सुनसरीको पाँचौ जिल्ला सभालाई सम्वोधन गर्दै सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद मन्सुरीले जनताले विश्वास गरेरै निर्वाचित गराएकाले जनअपेक्षाअनुसार विकास निर्माणकार्यमा जुट्न सुनसरीका स्थानीय तहका प्रमुखहरुलाई सुझाव दिए ।
जनमुखी काम गर्नका लागि आफू तम्तयार रहेकोले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा चासो दिनुपर्नेमा उनले जोड दिए । खासगरी कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने गरी अगाडी बढ्न स्थानीय तहका जनप्रतिनिधिलाई ध्यानाकर्षण गराउदै त्यसमा आफ्नो पूर्ण समर्थन रहने सांसद मन्सुरीको भनाइ छ ।
जनताको कामलाई बिशेष प्राथमिकतामा राखेर हरेक क्षेत्रमा समयमै सेवा प्रवाह गर्नका लागि आफू तयार रहेको उनले बताउँदै बिशेष गरी कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रमा आप्mनो निगरानी रहेकोले जनताको पहुँच पुर्याउनका लागि समेत पहलकदमी भूमिका निर्वाह गर्ने बताएका छन् । जनताको मतको कदर गर्दै जनताको लागि अहोरात्र खटने र जनताले पाउने सेवा सुविधालाई चुस्त दु्रस्त बनाउनका लागि सदैव तयार रहेको र सेवा सुविधा पाउन नसकेको सर्वसाधारणहरुको लागि पनि काम गर्ने उनको भनाई छ ।
जनताको सेवामा समर्पित रहने भएको हुँदा सर्वसाधारणहरुको समस्यालाई आफनो तर्फबाट पहल गर्ने र सक्दो सहयोग गर्न प्रतिवद्ध रहेको समेत सांसद मन्सुरीको भनाई छ । सोही कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले आफू जनताको अपेक्षा र जायज मागलाई सम्बोधन गर्दै विकास निर्माणकार्यमा कटिबद्ध भएर लागेको बताएका छन् । प्रदेश सांसद मन्सुरीको प्रमुख आतिथ्य तथा जिल्ला समन्वय समितिका सभापति राजन मेहताको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा जिल्लाका १२ ओटै स्थानीय तहका प्रमुख/उपप्रमुख,प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे,सुनसरी प्रहरी प्रमुख प्रभु ढकाल,कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।