इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रदेश सांसदहरुले नेपालमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।
उनीहरूले शुभकामना सन्देशमार्फत होली पर्व एक धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गर्दै अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताएका छन् । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा फागुपूर्णिमा (होली) पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै सुनसरी क्षेत्र नम्बर ४ ख बाट निर्वाचित प्रदेश सांसद हाजी डाक्टर इसराइल मन्सुरीले सबैमा शुभकामना व्यक्त गरेका छन् । यस्तै सुनसरी क्षेत्र नम्बर ४ ख बाट निर्वाचित प्रदेश सांसद सदानन्द मण्डलले पनि शुभकामना सन्देश मार्फत यो वर्षको होली पर्वले समाजमा आपसी भाइचारा बढोस् भन्दै शुभकामना दिएका छन् ।