लौकही । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सुरु गरेको छ । आयोगद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने गाउँका उम्मेदवारहरुको लागि १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गरेको छ । यहाँ १५ दिनसम्म सञ्चालन हुने तयारी कक्षामा गाउँपालिकाका ३० जनाभन्दा बढी नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने उम्मेदवारहरुले सहभागीता जनाएका छन । यस अघि ८ वटै वडाहरुका युवाका लागि शिक्षक सेवा तयारी कक्षा दिएकोमा बुधबारबाट लोकसेवाको अभिमुखिकरण कार्यक्रम सहित कक्षा सन्चालन गरेको छ ।
१५ दिने निशुल्क लोकसेवा तयारी कक्षा कार्यक्रमको उद्धघाटन गर्नुहुदै कोशीका उपाध्यक्ष अनितादेवी यादवले गाउँपालिकाले गाउँका युवायुवतीहरुलाई लक्षित गरी जिल्लामै पहिलो पटक आफूहरुको पहलमा नायव सुब्बा र खरिदार पदको तयारी कक्षा सन्चालन गराउन पाउँदा निकै खुशी लागेको बताउनुभयो । गाउँपालिकाका धेरै युवायुवतीहरुले नायव सुब्बा र खरिदार पदमा नाम निकाल्न सकुन र गाउँपालिकाको शिर माथि उठोस भनेर आफुहरु र विषेश गरेर अध्यक्ष ऐयुव अंसारीले पहिलेदेखि देखेको सपना पुरा हुनेमा यो तयारी कक्षाले निकै महत्वपूर्ण भुमिका खेल्ने उहाँले बताउनुभयो । तयारी कक्षामा सहभागीहरुलाई यो अवसरको राम्रोसँग सदुपयोग गरेर त्यहि अनुसार आफुले बढिभन्दा बढी तयारी गर्न उपप्रमुख यादवले आग्रह गर्नुभयो । कोशीका प्रमुख प्रशासकिय अधिकृत चोलाराज दंगालले सरकारी सेवामा केही गरौँ भन्ने भावना बोकेका युवाहरुलाई आफुहरुले बाटो देखाउने काम गरेको र त्यो बाटोमा सही ढंगले हिँडेर सफल हुन तयारी कक्षामा सहभागीहरुलाई आग्रह गर्नुभयो । खरिदार र नायव सुब्बाको तयारी गरिरहनु भएका सहभागीहरुले आफुहरु जस्ता धेरै लोकसेवाका तयारी गरिरहेका विद्यार्थीहरुलाई गाउँपालिकाले निशुल्क रुपमा १५ दिने तयारी कक्षा सन्चालन गरेकोमा असाध्यै खुशी लागेको बताएका छन् । यो कक्षामा सिकेका कुराहरुलाई आफूहरुले रातदिन मेहनत गरेर एकदिन आवश्य पनि सफलता चुम्ने सहभागीको भनाई थियो ।
उद्घाटन कार्यक्रममा आयोजक संस्था सामजिक जीवन केन्द्र नेपाल सुनसरीका अध्यक्ष हजरत मंसुरीले स्थानीय, प्रदेश र राष्ट्रिय स्तरका विज्ञ प्रशिक्षक मार्फत कक्षा सञ्चालन गरेको जानकारी दिनुभयो । लोक सेवा तयारी कक्षा उद्घाटन कार्यक्रममा प्रमुख प्रशासयिक अधिकृत चोलाराज दंगाल, लेखा अधिकृत सुरप्रसाद दंगाल, रामधुनीका लेखा अधिकृत एवम् प्रशिक्षक विरेन्द्र सिग्देल, प्रशिक्षक हरि आचार्य, सीमा सुरक्षा सशस्त्र प्रहरी निरीक्षक बब्लु कुमार सिंह, प्रहरी नायव निरिक्षक नागेश्वर थन्दार, कोशीका अध्यक्ष ऐयुव अंसारीका स्वकिय सचिव धर्मेन्द्र विश्वास, कोशी ३ का वडा सदस्य इब्राहिम मंसुरी, संस्थाका सचिव दिनेश यादव, दिनेश साह, इश्वर पंडित र पत्रकार जयकृष्ण यादव लगायतको उपस्थिती रहेको थियो ।








