पवन रौनियार
लौकही । कोसी गाउँपालीकास्थित वडा नम्बर २ मा सुरक्षित भविष्यका लागि स्वास्थ्य किशोरी कार्यक्रम सम्पन्न भएको छ । कोसी गाउँपालीकाको कार्यालयको सहयोग,जिल्ला प्रहरी कार्यालय सुनसरीको सहजीकरणमा मंगलबार कोसी गाउँपालीका वडा नम्बर २ पश्चिम् कुसाहास्थित रहेको श्री बुलबुल आधारभूत विद्यालयमा जनसम्पर्क मिडिया प्रालिले आयोजना गरेको थियो ।

कोसी गाउँपालीका वडा नम्बर २ का अध्यक्ष ध्यान उराँवको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो । सुरक्षित भविष्यका लागि स्वास्थ्य किशोरी कार्यक्रममा ८० जना बढी किशोरीहरुको सहभागिता रहेकोे थियो भने उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राई,इन्स्पेक्टर निरला भण्डारीलगायले प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा समाज र खासगरी सीमावर्ती क्षेत्रमा भइरहेकोे महिलामाथिका हिंसा,मानव बेचबिखन,लागूऔषध कारोबार,घरेलु हिंसा,बालबिबाह,साइबर अपराध लगायतका बारेमा जानकारी गराउदै त्यसबाट बच्न सकिने उपायका बारेमा जानकारी गराइएको थियो ।

कोसी गाउँपालीकाको कार्यालयको सहयोगमा जनसम्पर्क मिडिया प्रालिले आयोजना गरेको कार्यक्रमबाट यहाँका किशोरीहरु लाभान्वित बताउदै कार्यक्रमका वक्ताहरुले यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिनुपर्नेमा जोड दिए । सो कार्यक्रममा स्थानीय समाजसेवी ललित मण्डल,अनिता उराँव,ईलाका प्रहरी कार्यालय लौकहीका इन्चार्ज वरिष्ठ सई नागेश्वर थानदार,पत्रकारहरु पवन रौनियार,सज्जाद आलम,नुर आलम,सलाउद्दिन खान लगायतको उपस्थिति रहेको थियो ।








