मिकाइल आलम
लौकही । सुनसरी क्षेत्र नम्बर ४ का संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आफू हाजीहरुको समस्या समाधान गर्न कटिबद्ध भएर लागेको बताएका छन् । केहीदिन अगाडि संघीय संसदमा आफ्नो धारणा प्रस्तुत गर्दै हज यात्रा गर्न जाने मुस्लिम धर्मावलम्बीको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका उनले भाषणमा मात्रै नभई व्यबहारमा समस्या समाधान गर्नका निम्ति आफू लागिपरेको बताएका छन् ।

मुस्लिम धर्मावलम्बीले आफ्नो धार्मिक मान्यताअनुसार ईदुल अजहाँ (ब्रकईद) को अवसरमा जीवनमा एकपटक हज यात्रा गर्न साउदी अरबको मक्का मदिना जाने परम्परा रहेको छ । सोही कुरा संसदमा राख्दै पूर्व अर्थ,कानुन न्याय तथा सूचना एवं संचार मन्त्री समेत रहेका सांसद कार्कीले विगतमा भन्दा अहिले हज यात्रा गर्न जानेहरूले तीनगुणा बढी रकम तिर्नुपर्ने भएकोले निम्नआय भएका मुस्लिम धर्मावलम्बीलाई कठिनाइ उत्पदन भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले हाजीहरुको समस्या समाधान गर्न र मक्का मदिनामा उहाँहरुको बसाईलाई समुचित प्रवर्द्धनका निमित्त सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

यस्तै सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ३ स्थित जमुवामा हाजी उस्मान एण्ड जमिला मेमोरियल ट्रष्टले शनिबार आयोजना गरेको हज सम्बन्धि प्रशिक्षण तथा सम्मान कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि कार्कीले हज यात्रा सहज,सुलभ र सुरक्षित बनाउनका निम्ति आफू निरन्तर सरकारलाई खबरदारी गरिरहेको बताए । सोही कार्यक्रममा आफ्नो धारणा राख्दै कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले संघीय सांसद कार्कीले हरेक धर्मलाई सामान तवरबाट हेर्दै सबैका समस्या समाधान गर्न तम्तयार भएर लागेको बताउँछन् ।

कोरोना संक्रमणको बखत कोशी गाउँपालीका सहित सुनसरी र अन्य जिल्लाका गरी १३ जना नेपाली मुस्लिम समुदायलाई जेलबाट उद्धार गरी मुस्लिम समुदायउपर गुण लगाएका कार्कीले हज यात्रा सहज र सुलभ बनाउनका लागि संघीय संसदमा गरिएको ध्यानाकर्षणबाट मुस्लिम समुदाय प्रभावित भएको अध्यक्ष ऐयुब अन्सारी बताउँछन् । मुस्लिम धर्मावलम्बीको गुनासो र माग लाई दृष्टिगत गर्दै सांसद कार्कीले उठाएको जायज माग वर्तमान सरकारले सम्बोधन गर्नेमा आफूहरू आशावादी भएको सुनसरी क्षेत्र नम्बर ४ ख बाट निर्वाचित प्रदेश सांसद हाजी डाक्टर इसराइल मन्सुरी बताउँछन् । थोरै बोल्ने र बोलेका कुरा पूरा गर्ने व्यक्तित्व सांसद कार्की भएकाले नेपाली मुस्लिम समुदायले हज यात्राका क्रममा भोग्नुपरेको समस्या समाधान हुनेमा आफू पनि आशावादी भएको हरिनगर गाउँपालीका अध्यक्ष गफार अन्सारीको भनाइ छ ।








